झापा, ११ कात्तिक । झापामा गत भदौको तुलनामा असोज महिनामा सवारी दुर्घटना उल्लेख्य रूपमा बढेको छ। असोजमा जिल्लाभर भएका १५५ वटा सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने २४७ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार भदौमा ८८ वटा सवारी दुर्घटना भएकामा असोजमा यो सङ्ख्या बढेर १५५ पुगेको हो। एक महिनाको अवधिमा दुर्घटनाको सङ्ख्या ६७ ले बढेको छ।

दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यासमेत असोजमा उल्लेख्य रूपमा बढेको छ। भदौमा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने १३५ जना घाइते भएका थिए। असोजमा मृत्यु हुनेको सङ्ख्या बढेर १३ पुगेको छ भने घाइतेको सङ्ख्या २४७ पुगेको छ।
यसअघि साउन महिनामा ३९ वटा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए। प्रहरीको तथ्याङ्कले साउनदेखि असोजसम्म दुर्घटनाको सङ्ख्या निरन्तर बढेको देखाउँछ। यद्यपि, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने साउनको तुलनामा भदौमा घटेको थियो।
प्रहरीका अनुसार सवारी दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही देखिएको छ। भदौमा भएका ८८ दुर्घटनामध्ये ७८ वटा चालकको लापरवाहीका कारण भएका थिए। असोजमा पनि चालकको लापरवाहीका कारण ८७ वटा दुर्घटना भएको प्रहरीको विवरणमा उल्लेख छ।
यसैबीच, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि प्रहरीले कारबाहीलाई निरन्तरता दिएको छ। असोज महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ६३ वटा सवारीसाधनलाई कारबाही गर्दा २० लाख ५१ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सवारी दुर्घटनामा भएको वृद्धिले सडक सुरक्षाको चुनौती थप गम्भीर बनेको देखाएको छ। चालकको लापरवाही नियन्त्रण, तीव्र गति तथा ट्राफिक नियम उल्लङ्घनमाथि कडाइ र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउन सके दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ।



