झापा, २२ कात्तिक । झापाको कमल गाउँपालिका–५ मा निर्माण गर्ने भनिएको आदिवासी स्मृति रङ्गशालाको काम अघि बढ्ने भएको छ। सङ्घीय सरकारले रङ्गशाला निर्माणका लागि ३० करोड रुपैयाँको बहुवर्षीय परियोजना स्वीकृत गरेसँगै लामो समयदेखि अलपत्र रहेको आयोजनाले गति लिने अपेक्षा गरिएको छ।
विसं २०६७ वैशाखमा तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले रङ्गशाला निर्माणको शिलान्यास गर्नुभएको थियो। तर, नामकरणसम्बन्धी विवाद र राजनीतिक खिचातानीका कारण शिलान्यास भएको १५ वर्ष बितिसक्दा पनि निर्माण कार्य अघि बढ्न सकेको थिएन।

रङ्गशाला निर्माण समितिका महासचिव दिपेनवाला राईका अनुसार सङ्घीय सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा रङ्गशाला निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ। बाँकी रकम आगामी दुई आर्थिक वर्षमा विनियोजन गर्ने प्रतिबद्धतासमेत सरकारले जनाएको उहाँले जानकारी दिनुभयो।
विनियोजित बजेट कार्यान्वयन गर्ने विषयमा कमल गाउँपालिकाले आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानसहित सरोकारवाला निकायसँग संयुक्त बैठक सम्पन्न गरिसकेको छ।
कमल गाउँपालिका अध्यक्षसमेत रहनुभएका निर्माण समितिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षको बजेटबाट विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने तथा पूर्वाधार निर्माणको काम सुरु गर्ने निर्णय गरेको छ।
बैठकमा सघन सहरी विकास कार्यालय भद्रपुर, पाथीभरा सशस्त्र तालिम केन्द्र, पूर्वाधार विकास कार्यालय भद्रपुर तथा आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानका प्रतिनिधिको सहभागिता रहेको थियो।
रङ्गशाला निर्माणस्थलमा आदिवासी जनजातिका ९०० भन्दा बढी चिहान रहेकाले सुरुमा आयोजनाको नाम ‘आदिवासी स्मृति रङ्गशाला’ प्रस्ताव गरिएको थियो। तर, पछि रङ्गशालाको नाम परिवर्तन गरी ‘मदन भण्डारी रङ्गशाला’ राख्ने प्रयास भएपछि विवाद सिर्जना भएको थियो।
नामकरणसम्बन्धी विवादले राजनीतिक रूप लिँदा रङ्गशाला निर्माण प्रक्रिया नै प्रभावित बनेको थियो। अहिले बहुवर्षीय बजेट सुनिश्चित भएसँगै लामो समयदेखि अन्योलमा रहेको आयोजनाले पूर्णता पाउने स्थानीयको अपेक्षा छ।



