झापा, २२ कात्तिक । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार र नरक चतुर्दशी मनाइँदैछ। यस अवसरमा बिहानैदेखि घरघरमा कुकुरको पूजा गरी साँझ धनधान्य तथा ऐश्वर्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ।
आज बिहान सबेरै नरक चतुर्दशीको विधिअनुसार स्नान गरी कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा खानेकुरा खुवाउने धार्मिक परम्परा छ। साँझ घरआँगन सफा गरी दीपावलीका साथ झिलिमिली बनाएर लक्ष्मीको स्वागत तथा पूजा आराधना गरिन्छ।

कुकुरलाई इमानदार, आज्ञाकारी र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार कुकुर यमराजको दूत तथा यमलोकको द्वारपाल हो। त्यसैले आजको दिन कुकुरको पूजा गर्नाले मृत्युपछि यमलोकको यात्रा सहज हुने धार्मिक विश्वास छ। यस दिन कुकुरको पूजा नगरी भोजन गरे पाप लाग्ने शास्त्रीय मान्यता पनि रहिआएको छ।
पौराणिक कथाअनुसार द्वापर युगको अन्त्यमा पाण्डवहरू स्वर्ग जाने क्रममा चार भाइ र द्रौपदीको निधन भएपछि धर्मराज युधिष्ठिरलाई एउटा कुकुरले स्वर्गको ढोकासम्म साथ दिएको थियो। ऋग्वेदमा समेत कुकुरकी आमा सरमाले स्वर्गका राजा इन्द्रलाई हराएको वस्तु खोज्न सहयोग गरेको प्रसङ्ग उल्लेख छ।
भैरवको वाहनका रूपमा समेत कुकुरलाई मानिन्छ। कुकुरले अपराध अनुसन्धानमा सहयोग गर्नुका साथै प्राकृतिक विपत्तिको पूर्वसंकेतसमेत दिन सक्ने भएकाले यसको महत्त्व धार्मिक तथा व्यावहारिक दुवै दृष्टिले रहेको छ।
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। धार्मिक विधिअनुसार सूर्योदयअघि शरीरमा तिलको तेल, सुगन्धित द्रव्य तथा चन्दन लगाएर स्नान गर्ने परम्परा छ। यसलाई तैलाभ्यङ्ग स्नान भनिन्छ। तिलमा लक्ष्मी र जलमा गङ्गाको बास हुने धार्मिक विश्वासअनुसार यसरी स्नान गर्दा पापबाट मुक्ति मिल्ने र नरकको दर्शन गर्नु नपर्ने मान्यता छ।
स्नान गर्नुअघि अपामार्ग वनस्पतिको पात पानीमा डुबाएर शिरमा घुमाउँदै मन्त्र उच्चारण गर्ने चलन छ। स्नानपछि दक्षिणतर्फ फर्केर यमराजका १४ नाम स्मरण गर्दै प्रत्येक नाममा तीन–तीन अञ्जुली तिलयुक्त जलले तर्पण दिने धार्मिक विधान रहेको छ।
यस दिन मासको पातको साग खाने, नरक स्नान गर्ने, दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने परम्परा पनि रहेको छ। तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको कुकुर तिहारले मानिस र जनावरबीचको आत्मीय सम्बन्ध, माया र सम्मानको सन्देशसमेत दिने गरेको छ।



