झापा, २२ कात्तिक । जिल्लाका विभिन्न सहरी क्षेत्रमा सञ्चालित केही बैंक तथा वित्तीय संस्थाका एटीएम मेसिन बन्द रहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय झापाले सेवा नियमित सञ्चालन गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै एटीएम सेवा सञ्चालनमा नरहँदा सेवाग्राहीलाई बैंकिङ सेवा लिन कठिनाइ भएको गुनासो प्राप्त भएको जनाएको छ । यस विषयमा केही बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई टेलिफोनमार्फत आवश्यक व्यवस्था मिलाई एटीएम सेवा तत्काल सञ्चालन गर्न निर्देशन दिइसकिएको प्रशासनले जनाएको छ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकका गुनासो व्यवस्थापनसम्बन्धी जिम्मेवारीमा रहनुभएका निर्देशक सुशील पौडेललाई समेत यसबारे जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलद्वारा जारी विज्ञप्तिमा जिल्लामा सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई सेवाग्राहीप्रति जिम्मेवार र जवाफदेही हुँदै एटीएमलगायत चौबीसै घण्टा सञ्चालन हुनुपर्ने सेवा नियमित राख्न अनुरोध गरिएको छ ।
त्यस्तै, एटीएम कक्ष तथा परिसरमा जडान गरिएका सीसीटीभीलगायत सुरक्षा उपकरण दुरुस्त अवस्थामा राख्न र सुरक्षा गार्डलाई नजिकको सुरक्षा निकायसँग समन्वय गरी आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । सेवाग्राहीले सहज, सुरक्षित र नियमित रूपमा बैंकिङ सेवा प्राप्त गर्न सक्ने वातावरण सुनिश्चित गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको जिम्मेवारी भएकाले यस विषयलाई गम्भीरतापूर्वक लिन प्रशासनले आग्रह गरेको छ ।



