डा. केदार कार्की
तिहार र दीपावली दुवै प्रकाश, उल्लास र समृद्धिसँग जोडिएका पर्व हुन् । दुवैमा दियो बाल्ने, घर सजाउने, लक्ष्मीको पूजा गर्ने र परिवार तथा आफन्तबीच खुसी साटासाट गर्ने परम्परा छ । यद्यपि, सांस्कृतिक पृष्ठभूमि, धार्मिक मान्यता र मनाउने मौलिक शैलीका आधारमा यी पर्वमा केही भिन्नता पाइन्छ । नेपालमा तिहारका रूपमा मनाइने यो पर्व भारतका विभिन्न क्षेत्रमा दीपावली वा दिवालीका रूपमा प्रचलित छ । त्यसैले यी दुवैलाई एउटै धार्मिक तथा सांस्कृतिक परम्पराको समान रूप मान्नुभन्दा तिनका विशिष्टता र आपसी सम्बन्ध बुझ्नु आवश्यक छ ।
नेपालमा दशैंपछिको दोस्रो ठूलो चाडका रूपमा तिहार मनाइन्छ । यसलाई यमपञ्चक पनि भनिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यस पर्वमा प्रकृति, पशुपन्छी, धनसम्पत्ति र पारिवारिक सम्बन्धलाई विशेष महत्व दिइन्छ ।

काग, कुकुर, गाई र गोरुको पूजा तथा सम्मान गर्नु तिहारको मौलिक विशेषता हो । लक्ष्मीपूजा, गोवर्धन पूजा, म्हः पूजा र भाइटीकाले यस पर्वलाई थप विशिष्ट बनाएका छन् । नेवार समुदायमा मनाइने म्हः पूजाले व्यक्तिको अस्तित्व, आत्मसम्मान र जीवनको महत्त्वलाई उजागर गर्छ ।
तिहारको अन्तिम दिन मनाइने भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयतालाई प्रगाढ बनाउँछ । सप्तरङ्गी टीका, मखमली तथा सयपत्रीका माला र दिदीबहिनीले दाजुभाइको दीर्घायु तथा सुखसमृद्धिको कामना गर्ने परम्परा यसको विशेष पहिचान हो । यस अवसरमा देउसी–भैलो खेल्ने, घर–घरमा पुगेर शुभकामना आदानप्रदान गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने चलनले सामाजिक एकता र सामुदायिक भावनालाई बलियो बनाउँछ ।
दीपावली : उज्यालोको पर्व
दीपावली शब्द संस्कृतका ‘दीप’ र ‘आवली’ शब्दबाट बनेको मानिन्छ । ‘दीप’ को अर्थ प्रकाश र ‘आवली’ को अर्थ पङ्क्तिबद्ध वा ताँतीबद्ध बत्ती हो । यस अर्थमा दीपावली भनेको दियोहरूको पङ्क्ति अर्थात् उज्यालोको पर्व हो । सामान्यतः यसलाई अन्धकारमाथि प्रकाश, अज्ञानतामाथि ज्ञान र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइन्छ ।
हिन्दू चन्द्र पात्रोअनुसार दीपावली प्रत्येक वर्ष फरक मितिमा पर्छ । सामान्यतया ग्रेगोरियन पात्रोअनुसार अक्टोबर वा नोभेम्बर महिनामा पर्ने यो पर्व कार्तिक महिनाको औंसीमा विशेष रूपमा मनाइन्छ । भारतका विभिन्न क्षेत्रमा यसको धार्मिक र सांस्कृतिक महत्व फरक–फरक भए पनि दियो बाल्ने, घर सफा तथा सजावट गर्ने, नयाँ कपडा लगाउने र लक्ष्मीको पूजा गर्ने परम्परा साझा रूपमा पाइन्छ ।
भारतका धेरै क्षेत्रमा दीपावली भगवान् राम १४ वर्षको वनवास पूरा गरी अयोध्या फर्किएको खुसीयालीसँग जोडिएको छ । यस पर्वको सुरुवात धनतेरसबाट हुन्छ । यस दिन सुन, चाँदी तथा अन्य नयाँ वस्तु खरिद गर्नु शुभ मानिन्छ । त्यसपछि नरक चतुर्दशी मनाइन्छ, जसलाई दक्षिण भारतमा विशेष महत्व दिइन्छ । भगवान् कृष्णले नरकासुरमाथि विजय प्राप्त गरेको घटनासँग यस दिनलाई जोडिन्छ ।
दीपावलीको मुख्य दिन लक्ष्मीपूजा हो । यस दिन धनकी देवी लक्ष्मी र गणेशको पूजा गरी घर तथा व्यापारिक प्रतिष्ठानमा दियो बालिन्छ । त्यसपछि गोवर्धन पूजा मनाइन्छ । यो पर्व भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीलाई भारी वर्षाबाट जोगाएको धार्मिक कथासँग सम्बन्धित छ । पाँचौं दिन भाइदूज मनाइन्छ, जुन नेपाली भाइटीकासँग मिल्दोजुल्दो छ । गुजरातलगायत केही भारतीय समुदायमा दीपावलीपछिको दिनलाई नयाँ वर्षका रूपमा मनाउने चलनसमेत छ ।
दीपावली हिन्दू धर्मावलम्बीमा मात्र सीमित छैन । सिख समुदायले यसै अवसरमा बन्दी छोड दिवस मनाउँछन् । छैटौं सिख गुरु हरगोविन्द साहिब ग्वालियर किल्लाबाट मुक्त भएको घटनाको सम्झनामा यो दिवस मनाइन्छ ।
धार्मिक परम्पराअनुसार गुरु हरगोविन्द साहिबसँगै ५२ जना राजकुमार पनि मुक्त भएका थिए । जैन धर्मावलम्बीका लागि दीपावली भगवान् महावीरले निर्वाण प्राप्त गरेको स्मृतिसँग जोडिएको छ । केही बौद्ध समुदायमा पनि यो पर्वलाई सम्राट अशोकसँग सम्बन्धित ऐतिहासिक तथा सांस्कृतिक प्रसङ्गसँग जोडेर मनाउने गरिन्छ ।
तिहार र दीपावलीका मुख्य भिन्नता
तिहारको मौलिकता प्रकृति, जीवजन्तु, पारिवारिक सम्बन्ध र सामुदायिक एकतासँग जोडिएको छ । काग, कुकुर, गाई र गोरुको पूजा गर्नुले मानव र प्रकृतिबीचको सहअस्तित्वलाई सम्मान गर्छ । देउसी–भैलो, म्हः पूजा र भाइटीकाले नेपाली समाजको विशिष्ट सांस्कृतिक पहिचान प्रस्तुत गर्छन् ।
यसको तुलनामा भारतका विभिन्न क्षेत्रमा प्रचलित दीपावलीको मुख्य धार्मिक आधार भगवान् रामको अयोध्या आगमन, लक्ष्मीपूजा र समृद्धिको कामनासँग सम्बन्धित छ । धनतेरस, नरक चतुर्दशी, गोवर्धन पूजा र भाइदूज यसका प्रमुख पक्ष हुन् । यद्यपि, भारतका सबै क्षेत्रमा एउटै विधि र परम्परा प्रचलित छैनन् । क्षेत्र, समुदाय र धार्मिक मान्यताअनुसार मनाउने तरिका फरक–फरक छन् ।
यसरी हेर्दा तिहार र दीपावलीबीच समानता भए पनि तिहारका मौलिक पक्षलाई दीपावलीको एउटा रूपका रूपमा मात्र बुझ्नु उपयुक्त हुँदैन । तिहार नेपाली समाजको आफ्नै सांस्कृतिक विशेषता बोकेको पर्व हो ।
प्राचीन परम्पराको महत्व
प्राचीन समयमा तिहार केवल रमाइलो र मनोरञ्जनको पर्व थिएन । यसले मानव जीवन, प्रकृति, पशुपन्छी र सामाजिक सम्बन्धबीचको अन्योन्याश्रित सम्बन्धलाई स्मरण गराउँथ्यो । घरआँगन सफा गर्ने, माटाका पालामा तोरीको तेल भरेर बत्ती बाल्ने, घरको दैलोमा गोबर र रातो माटोले लिपपोत गर्ने तथा लक्ष्मीको पाइला बनाउने परम्परा प्रचलित थियो । घरमै तयार पारिएका सेलरोटी, अनरसा र अन्य परिकार देवीदेवतालाई चढाउने र आफन्त तथा छिमेकीसँग बाँडेर खाने चलन थियो ।
देउसी–भैलो पनि सामूहिक संस्कृतिको महत्वपूर्ण पक्ष थियो । मादल, खैंजडी र अन्य परम्परागत बाजागाजासहित मौलिक भाकामा गीत गाएर घरघर पुग्ने चलनले समाजमा आत्मीयता, सहयोग र सद्भाव बढाउँथ्यो । यसले मनोरञ्जनका साथै समुदायबीच सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गथ्र्यो ।
दीपावलीको प्राचीन स्वरूप पनि आध्यात्मिक जागरण, आत्मशुद्धि र अन्धकारमाथि प्रकाशको विजयको प्रतीकका रूपमा विकसित भएको मानिन्छ । माटाका दियो बालेर घर तथा सार्वजनिक स्थान उज्यालो बनाउने र लक्ष्मी–गणेशको पूजा गरी सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा यसको महत्त्वपूर्ण पक्ष थियो ।
आधुनिकताको प्रभाव र बदलिँदो संस्कृति
समयसँगै तिहार र दीपावली मनाउने शैलीमा ठूलो परिवर्तन आएको छ । प्रविधिको विकास, सहरीकरण र विश्वव्यापीकरणले पर्वको स्वरूपलाई थप आधुनिक र आकर्षक बनाएका छन् । तर, यससँगै कतिपय मौलिक परम्परा ओझेलमा पर्दै गएका छन् ।
पहिले माटाका पाला र तोरीको तेल प्रयोग गरेर घर उज्यालो बनाउने चलन थियो । अहिले ती स्थानमा विद्युतीय बत्ती, एलईडी झालर र विभिन्न प्रकारका कृत्रिम सजावटले स्थान लिएका छन् । आधुनिक बत्तीले घर सजाउन सजिलो र आकर्षक बनाए पनि परम्परागत माटाका पाला बनाउने कुम्हालेहरूको पेसा संकटमा परेको छ । स्थानीय उत्पादन र सीपको संरक्षणमा पर्याप्त ध्यान नदिँदा यस्ता परम्परागत व्यवसाय विस्थापित हुने जोखिम बढेको छ ।
त्यस्तै, दीपावली तथा तिहारका नाममा पटाका र आतसबाजी पड्काउने प्रवृत्ति बढ्दै गएको छ । यसले ध्वनि तथा वायु प्रदूषण निम्त्याउनुका साथै बालबालिका, वृद्धवृद्धा, बिरामी र पशुपन्छीलाई समेत असर पु¥याउँछ । नेपालमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग कानुनी रूपमा प्रतिबन्धित भए पनि लुकिछिपी प्रयोग हुने गरेको पाइन्छ । त्यसैले पर्वलाई सभ्य, सुरक्षित र वातावरणमैत्री बनाउनु आवश्यक छ ।
देउसी–भैलोको शैलीमा पनि परिवर्तन आएको छ । पहिले मादल, खैंजडी र मौलिक भाकामा खेलिने देउसी–भैलो अहिले साउण्ड सिस्टम, डिजे र आधुनिक पप तथा ¥याप गीतमा केन्द्रित हुन थालेको छ । प्रविधिको प्रयोग आफैंमा गलत होइन, तर मौलिक भाका, संस्कृति र सामूहिक भावनालाई विस्थापित गर्ने गरी परिवर्तन हुनु चिन्ताको विषय हो । कतिपय ठाउँमा देउसी–भैलो सांस्कृतिक परम्पराभन्दा मनोरञ्जन र आर्थिक सङ्कलनको माध्यमका रूपमा सीमित हुँदै गएको देखिन्छ ।
खानपान र उपहार आदानप्रदानमा पनि बजारको प्रभाव बढेको छ । घरमै बनाइने सेलरोटी, अनरसा तथा परम्परागत परिकारको सट्टा बजारका प्याकेटबन्द मिठाई, चकलेट र महँगा उपहारको प्रयोग बढ्दै गएको छ । भाइटीकामा दाजुभाइ तथा दिदीबहिनीबीच दिइने उपहारसमेत महँगा ग्याजेट र ब्राण्डेड सामग्रीमा केन्द्रित हुन थालेका छन् । उपहारको मूल्यभन्दा त्यसमा जोडिएको माया, सद्भाव र आत्मीयता महत्वपूर्ण हुन्छ भन्ने मूल भावनालाई बिर्सनु हुँदैन ।
मौलिकता जोगाउँदै आधुनिकतालाई आत्मसात् गरौं
खुसी, सुख र शान्तिको खोजी मानवीय स्वभाव हो । आयु, आरोग्य, ऐश्वर्य, घरपरिवार र समाजबिनाको समृद्धिको कल्पना गर्न सकिँदैन । कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चक अर्थात् तिहारले मानिसलाई अभावबाट समृद्धितर्फ, अज्ञानताबाट ज्ञानतर्फ, अन्धकारबाट उज्यालोतर्फ र निराशाबाट आशातर्फ अग्रसर हुन प्रेरणा दिन्छ ।
तर विडम्बना, पछिल्लो समय यति ठूलो सांस्कृतिक, सामाजिक र धार्मिक महत्व बोकेको मौलिक पर्वलाई ‘दीपावली’ मा मात्र सीमित गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसले तिहारका बहुआयामिक पक्षलाई विस्तारै ओझेलमा पार्ने जोखिम बढाएको छ । चाडपर्वलाई सतही रूपमा मनाउने र देखावटी प्रतिस्पर्धामा रमाउने प्रवृत्तिले हाम्रो मौलिक सांस्कृतिक धरातल कमजोर बनाउँदै लगेको छ ।
आधुनिकता र प्रविधिलाई पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन । समयअनुसार पर्व मनाउने शैली परिवर्तन हुनु स्वाभाविक पनि हो । तर, परिवर्तनका नाममा आफ्नो मौलिक पहिचान, परम्परा र सांस्कृतिक मूल्यलाई बिर्सनु हुँदैन । माटाका पाला प्रयोग गर्ने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, मौलिक देउसी–भैलो संरक्षण गर्ने, पशुपन्छी तथा प्रकृतिप्रति सम्मान प्रकट गर्ने र पारिवारिक सम्बन्धलाई बलियो बनाउने अभ्यासलाई निरन्तरता दिनुपर्छ ।
तिहार र दीपावलीको मूल सन्देश प्रकाश, प्रेम, सद्भाव, ज्ञान र समृद्धि हो । त्यसैले पर्वको बाहिरी तडकभडकभन्दा यसको आन्तरिक भावना र सांस्कृतिक महत्वलाई प्राथमिकता दिनु आवश्यक छ । आधुनिकतालाई आत्मसात् गर्दै मौलिक परम्पराको संरक्षण गर्न सके मात्र भावी पुस्ताले पनि तिहारको वास्तविक अर्थ र महत्व बुझ्न पाउनेछन् ।



