इटहरी, २२ कात्तिक । सुनसरीको इटहरीमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने दुवैको पहिचान खुल्न सकेको छैन।
इटहरी उपमहानगरपालिका–१३ स्थित कोसी राजमार्गमा पेट्रोल पम्प नजिकै गएराति करिब पौने १२ बजे दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै युवक गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पठाइएकोमा अस्पताल पुर्याउनासाथ राति १२ बजेर ११ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक दुवै जना अन्दाजी ३० देखि ३५ वर्ष उमेरका पुरुष रहेको प्रहरीले जनाएको छ। उनीहरूको सनाखत गर्ने प्रयास भइरहेको डीएसपी खड्काले जानकारी दिए।
दुर्घटनामा संलग्न ट्रकका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।



