बिर्तामोड, २२ कार्तिक । झापामा विभिन्न मितिमा प्रहरीले बरामद गरेका एक लाख ६७ हजार रुपैयाँ बराबरका पटाकाजन्य पदार्थ नष्ट गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतका प्रहरी कार्यालयहरूले विभिन्न मितिमा बेवारिसे अवस्थामा फेला पारी बरामद गरेका पटाकाजन्य पदार्थ आइतबार नष्ट गरिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाको परिसरभित्र खाडल खनी स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा स्थानीयवासीको रोहवरमा ती पटाकाजन्य पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार नष्ट गरिएका पटाकाजन्य पदार्थको अनुमानित मूल्य एक लाख ६७ हजार रुपैयाँ रहेको छ।
तिहार तथा छठलगायतका चाडपर्वका समयमा पटाकाजन्य विस्फोटक पदार्थको प्रयोगले आगलागी, दुर्घटना तथा मानवीय क्षति निम्त्याउन सक्ने भएकाले प्रहरीले यस्ता पदार्थको ओसारपसार, बिक्रीवितरण तथा प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ।



