झापा, २३ कात्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा समेत आंशिक बदली हुने पूर्वानुमान गरिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, सोमबार राति देशका हिमाली भूभागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। रातिको समयमा गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा मंगलबार बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। त्यसैले बिहानको समयमा यात्रा गर्ने तथा सडक यातायात सञ्चालन गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।



