झापा, २३ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजा आराधना गरी गाईतिहार मनाइँदैछ। यस अवसरमा बिहानैदेखि हिन्दू धर्मावलम्बीले गाईलाई टीका, माला लगाइदिएर मीठा परिकार खान दिई पूजा गरिरहेका छन्।
हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ। गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने धार्मिक तथा सांस्कृतिक विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। दूध, गोबर र गहुँत धार्मिक तथा व्यवहारिक दृष्टिले उपयोगी मानिने भएकाले पनि गाईको विशेष महत्त्व रहेको छ।

धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खुवाउँदा पुण्य प्राप्त हुने विश्वास छ। नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गर्ने विधान रहेको छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक तथा संस्कारजन्य कार्यमा गाईदान गर्ने परम्परासमेत रहिआएको छ। पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर त्यसबापत रकम राख्ने चलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतमले बताउनुभएको छ।
गाईलाई नेपालमा राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ। धार्मिक विश्वासअनुसार साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि गाईले वैतरणी नदी पार गराएर स्वर्गसम्म पुर्याउने मान्यता रहिआएको छ।
यसरी गाईतिहारले धार्मिक आस्था, परम्परा र मानव जीवनमा गाईको महत्त्वलाई स्मरण गराउने सांस्कृतिक पर्वका रूपमा विशेष स्थान राख्दै आएको छ।



