झापा, २३ कात्तिक । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामै नेपालमा करिब साढे २ अर्ब रुपैयाँ बराबरको भाइ मसला आयात भएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा दिने ओखर, नरिवल, बदाम, काजु र किसमिस आयातमा मात्रै तीन महिनाको अवधिमा २ अर्ब ४४ करोड १४ लाख ७८ हजार रुपैयाँ विदेशिएको छ । उक्त आयातबाट सरकारले ५९ करोड ३३ लाख १५ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन गरेको छ ।


तथ्याङ्क अनुसार रकमका आधारमा सबैभन्दा बढी ओखर आयात भएको छ । यस अवधिमा १५ लाख २५ हजार २५० किलोग्राम ओखर आयात गर्दा ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ । यसबाट १५ करोड ८९ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । ओखर मुख्यतः चीनबाट ४७ करोड २ लाख र अमेरिकाबाट १८ करोड ३६ लाख रुपैयाँ बराबरको आयात गरिएको छ ।
परिमाणका आधारमा भने नरिवल सबैभन्दा धेरै आयात भएको छ । तीन महिनामा १ करोड १४ लाख ६ हजार २०७ किलोग्राम नरिवल आयात गर्दा ५६ करोड ६० लाख ७० हजार रुपैयाँ विदेशिएको छ । यसबाट सरकारले ११ करोड १० लाख ४५ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । नरिवलको आयात लगभग पूर्ण रूपमा भारतमा निर्भर रहेको छ ।
त्यस्तै, बदाम आयातमा ४७ करोड ९३ लाख ३५ हजार रुपैयाँ खर्च भएको छ । यस अवधिमा ५ लाख ९ हजार ७८ किलोग्राम बदाम आयात भएको छ । त्यसबाट ११ करोड ६५ लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । बदामको अधिकांश आयात अमेरिकाबाट भएको छ । अमेरिकाबाट मात्रै ४७ करोड ४२ लाख रुपैयाँ बराबरको बदाम नेपाल भित्रिएको तथ्याङ्क छ ।
भाइ मसलामा प्रयोग हुने काजु ४६ करोड ५७ लाख २६ हजार रुपैयाँ बराबरको आयात भएको छ । चार लाख ६९ हजार ५१६ किलोग्राम काजु आयात हुँदा सरकारले १३ करोड ९५ लाख ५२ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । काजु मुख्यतः भारतबाट २५ करोड २८ लाख र भियतनामबाट २१ करोड २७ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
यसैगरी, किसमिस आयातमा २७ करोड ६३ लाख ४९ हजार रुपैयाँ विदेशिएको छ । सात लाख ३३ हजार ५९८ किलोग्राम किसमिस आयात हुँदा ६ करोड ७१ लाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । किसमिसको मुख्य स्रोत चीन र भारत रहेका छन् । चीनबाट १९ करोड ९१ लाख र भारतबाट ७ करोड ७० लाख रुपैयाँ बराबरको किसमिस आयात भएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा नेपालले सुक्खा फलफूल तथा नरिवल आयातमा ४ अर्ब ४४ करोड ६६ लाख ७७ हजार रुपैयाँ खर्च गरेको थियो । उक्त अवधिमा कुल ३ करोड ६८ लाख ४८ हजार ४४५ किलोग्राम यस्ता वस्तु आयात भएका थिए । त्यसबाट सरकारले ९२ करोड ७६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामै सुक्खा फलफूल तथा नरिवलको आयातमा गत आर्थिक वर्षको कुल वार्षिक आयात मूल्यको आधाभन्दा बढी रकम विदेशिएको देखिन्छ । तिहार, छठलगायत चाडपर्वमा सुक्खा फलफूल तथा भाइ मसलाको माग बढ्ने भएकाले नेपालले हरेक वर्ष चीन, अमेरिका, भारत र भियतनामजस्ता मुलुकबाट अर्बौं रुपैयाँको यस्ता वस्तु आयात गर्दै आएको छ ।


