सन्तोष शर्मा
झापा, २३ कात्तिक । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८३/०८४ को असोज महिनामा प्रमुख निर्यातजन्य वस्तुको व्यापारमा उत्साहजनक वृद्धि देखिएको छ । मेची भन्सार कार्यालयका अनुसार चिया, प्लाइउड र अलैंचीलगायतका वस्तुको निर्यात बढेको छ ।
विशेषगरी चिया र प्लाइउडको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आवको असोजमा २४ करोड ७४ लाख रुपैयाँ बराबरको चिया निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा करिब १०० दशमलव ६ प्रतिशतले बढी हो ।

त्यस्तै, प्लाइउडको निर्यातमा पनि उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोजमा १७ करोड ९७ लाख ४० हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४४ करोड २३ लाख ४८ हजार रुपैयाँ पुगेको छ । यो करिब १४६ प्रतिशतको वृद्धि हो ।
नेपालको प्रमुख निर्यातजन्य कृषि उपज अलैंचीको निर्यातमा समेत सुधार आएको छ । गत आर्थिक वर्षको असोजमा ७९ करोड ३१ लाख ६४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ९१ करोड ८८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा करिब १३ दशमलव ६८ प्रतिशतले बढी हो ।
यसैगरी, गत आवको असोजमा निर्यात नभएका केही औद्योगिक वस्तुले समेत विदेशी बजारमा प्रवेश पाएका छन् । फलामका पाता, कोरुगेटेड सिट (जस्तापाता), सीआर सिट तथा एमएस स्टिल स्ट्रिपलगायतका वस्तुको निर्यात सुरु भएको तथ्याङ्कले देखाएको छ ।



