झापा, २५ कार्तिक । झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले रु ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ ।
भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा काँकडभिट्टा, भद्रपुर, केचनालगायत सीमावर्ती क्षेत्रबाट दुई दिनको अवधिमा उक्त फूलमाला बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण भद्रपुरका गणपति सचिन कर्माचार्यका अनुसार मंगलबार रु १४ लाख १५ हजार ३०० र सोमबार रु २५ लाख ६३ हजार ४०० मूल्य बराबरका फूलमाला नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रशासन कार्यालय झापाले भारतबाट फूलमाला आयातमा रोक लगाउँदै यस वर्षको पर्वमा स्वदेशी फूलमाला प्रयोग गर्न आग्रह गर्दै आएको छ । अवैध रूपमा भित्र्याइने फूलमाला नियन्त्रणमा लिन प्रशासनले सुरक्षा निकायलाई निर्देशनसमेत दिएको थियो ।
बरामद गरिएका फूलमाला जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, प्लान्ट क्वारेन्टिन, जनप्रतिनिधि तथा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।



