बाहुनडाँगी, २७ कात्तिक । हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि झापा जिल्ला प्रशासन कार्यालयले हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीका किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको छ । बाली भित्र्याउने काम पूरा नहुँदासम्म थप सुरक्षाकर्मी परिचालन गरी जङ्गली हात्तीको प्रवेश नियन्त्रण गर्ने रणनीति प्रशासनले अघि सारेको छ ।
कात्तिक २७ गते बिहान हात्तीको आक्रमणबाट एक जना घाइते भएको घटनापछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा सुरक्षा निकायका प्रमुखसहितको टोलीले हात्ती प्रवेश गर्ने पूर्वी नाका मेचीनगरको बाहुनडाँगी क्षेत्रको आकस्मिक स्थलगत निरीक्षण गरेको थियो ।

टोलीमा नेपाली सेनाका प्रमुख सेनानी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक तथा सम्बन्धित निकायका प्रतिनिधि सहभागी थिए । भारतबाट जङ्गली हात्ती नेपाल प्रवेश गर्ने मुख्य बिन्दु बाहुनडाँगी पुग्दा स्थानीय जनप्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, डिभिजन वन कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीको रेखदेखमा किसानहरू पाकेर पहेँलपुर भएको धानबाली काट्न र घरसम्म ढुवानी गर्न व्यस्त थिए ।
स्थलगत निरीक्षणका क्रममा सुरक्षा निकायका प्रमुखहरूले किसानसँग खेतबारीमै पुगेर छलफलसमेत गरेका थिए। स्थानीय किसानले बढीमा पाँच दिनसम्म हात्तीको प्रवेश नियन्त्रण गर्न सके पाकेको धानबाली सुरक्षित रूपमा घर भित्र्याउन सकिने भन्दै त्यस अवधिसम्म विशेष सुरक्षा व्यवस्था मिलाउन माग गरेका थिए।
किसानको मागलाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी पोखरेलले दुवै सुरक्षा निकायका प्रमुखलाई आवश्यक समन्वय गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएका छन्। जिल्लाबाट अतिरिक्त सुरक्षा जनशक्ति परिचालन गरी स्थानीय समुदायसँगको सहकार्यमा हात्तीको प्रवेश नियन्त्रण गर्ने प्रयास गरिने प्रशासनले जनाएको छ।
स्थलगत अवलोकनपछि स्थानीय वडाध्यक्ष अर्जुन कार्कीको पहलमा किसान, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखबीच अन्तरक्रियासमेत भएको थियो।
हात्ती नियन्त्रणका लागि उक्त क्षेत्रमा खटिएको विशेष सुरक्षा टोलीलाई प्रमुख जिल्ला अधिकारी पोखरेलले टर्चलाइट र हाते माइक हस्तान्तरण गरेका थिए। ती सामग्री वडाध्यक्ष कार्कीको पहलमा प्राप्त भएका हुन्।
हाल उक्त क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय युवासहितको टोली तयारी अवस्थामा राखिएको छ। हात्ती प्रवेश गरेको वा जोखिम देखिएको सूचना प्राप्त हुनासाथ टोली तत्काल परिचालन हुने व्यवस्था मिलाइएको छ।



