झापा, २९ कार्तिक । सूर्यदेवको आराधना, उपासना र पूजाआजासहित मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ। चार दिनसम्म विधिपूर्वक मनाइने यो पर्व शुक्रबारदेखि सुरु भएको हो।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेव र षष्ठी माताको पूजा आराधना गरिन्छ। छठ पर्वको मुख्य दिन षष्ठी तिथिमा व्रतालुले दिनभर निराहार व्रत बसेर साँझ जलाशय तथा नदी किनारमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ।

पौराणिक मान्यताअनुसार महाभारतमा उल्लेख भएबमोजिम द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। त्यसबेला पाण्डवहरू विराट राजाको दरबारमा बसेको उल्लेख छ। लोककथनअनुसार त्यही समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ।
त्यस्तै, सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। व्रतको प्रभावले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक विश्वास छ। त्यसै समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको सूर्य पुराणमा उल्लेख रहेको बताइन्छ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमा आधारित रहेको धार्मिक तथा वैज्ञानिक मान्यता छ। सूर्यको ऊर्जाविना वनस्पति, प्राणी तथा जीवजन्तुको अस्तित्व सम्भव छैन। सूर्यको किरणबाट विभिन्न रोगको उपचारसमेत सम्भव हुने विषयमा चिकित्सा क्षेत्रमा अध्ययन र अनुसन्धान हुँदै आएको छ।
पौराणिक कथनअनुसार भगवान् श्रीकृष्णका पुत्र साम्ब महर्षि दुर्वासाको श्रापका कारण कुष्ठरोगबाट पीडित भएका थिए। सूर्यदेवको आराधना गरेपछि उनी रोगमुक्त भएको प्रसङ्ग पुराणमा उल्लेख छ।
छठ पर्वमा व्रत बसे दुःख, कष्ट र दरिद्रताबाट मुक्ति मिल्ने जनविश्वास छ। यस अवसरमा विभिन्न फलफूल तथा प्रसाद चढाउँदा सूर्यदेव प्रसन्न भई व्रतालु र उनका परिवारका सदस्य तथा सन्तानको कल्याण हुने धार्मिक मान्यता छ। आफू व्रत बस्न नसक्नेहरूले पनि अरू व्रतालुमार्फत आफ्नो मनोकामना पूरा हुने कामना गर्ने परम्परा रहेको छ।
व्रतविधि
छठ पर्वको पहिलो दिन अर्थात् कार्तिक शुक्ल चतुर्थीमा स्नान गरी शुद्ध भएर एक छाक भोजन गर्ने गरिन्छ। दोस्रो दिन पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई प्रसादका रूपमा ग्रहण गरिन्छ। यस दिन व्रतालुले नुन नखाई फलाहार गर्ने परम्परा छ।
पर्वको मुख्य दिन षष्ठीका अवसरमा व्रतालुले कठोर निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिने गर्छन्। गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले रातभर जाग्राम बसेर भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व विधिपूर्वक समापन हुने जानकारी दिनुभयो।
उहाँका अनुसार षष्ठीको रातभर जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सम्पन्न हुन्छ।
कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छालासम्बन्धी रोग नलाग्ने धार्मिक विश्वाससमेत छ।
विसं २०४६ अघिसम्म तराईका सीमित क्षेत्रमा मात्र मनाइने छठ पर्वले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरिसकेको छ। विसं २०४६ देखि सरकारले छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिन थालेको थियो। बीचका केही वर्ष बिदा कटौती भए पनि पुनः सरकारले सार्वजनिक बिदा दिन थालेको छ।
छठका व्रतालुले चतुर्थीदेखि नै चोखो र शुद्ध खानपानमा ध्यान दिने गर्छन्। कतिपय व्रतालुले कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी भोजन त्यागेर सात्विक भोजन गर्ने परम्परासमेत रहेको छ।
कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिपूर्वक समापन हुनेछ।



