झापा, २९ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। बाँकी पहाडी तथा तराई भूभागमा आंशिक बदली रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ र असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति देशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने कोशी प्रदेशसहित अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ। हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यसैगरी, सोमबार कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
सोमबार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।



