झापा, ३० कात्तिक । चार दिने छठ पर्वको चौथो दिन आज (सोमबार) श्रद्धालु भक्तजनहरुले उदाउँदो सूर्यलाई अघ्र्य दिँदै मनाएका छन् । पहिलो दिन नाहखाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्य र आज चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिँदै मनाइएको हो ।
जिल्लाका साना–ठूला खोला, नदी तथा तलाउ बेहुलीझैं सिंगारिएका थिए । मेची नदी, बिरीङ, कनकाई, हडिया, टाङटिङ, देउनिया, रतुवा, मावा, बनियानी, अदुवा लगायत जिल्लाका सानादेखि ठूला सबै नदीमा पूजास्थल निर्माण गरिएका थिए ।
कोरोना भाइरसको संक्रमणका कारण लकडाउन भएपछि घरमै पोखरी÷ जलाशय निर्माण गर्नुका साथै नजिकैको खोला÷ पैनिमा समेत छठ पूजा गर्ने चलन सुरु भएको छ । श्रद्धालु भक्तजनहरुले आँगनमै जलाशय बनाएरसमेत उल्लासका साथ छठ पर्व मनाएका छन् ।

मेचीनदीमा समावेशी छठ पर्व
भद्रपुरस्थित मेची नदी किनार नेपाल र भारतका भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै समावेशी र भव्य रूपमा छठ पर्व मनाउने गरेका छन् । सोही अुनसार यस वर्षसमेत मेची नदीको दुवै तर्फ घाट (पूजा स्थल) निर्माण गरी सिँगारिएको थियनो ।
मेची नदीको किनारमा हिमाली, पहाडी, तराई, मारवाडी र बंगाली समुदायको साझा सहभागिता रहने गरेको छ । सीमावर्ती भद्रपुर–५ क्षेत्रमा यस वर्ष करिब १.५ किलोमिटर दूरीमा ३ हजारभन्दा बढी पूजास्थल रहने गरेको मैथली समाज भद्रपुरका कार्यसमिति सदस्य प्रकाश शर्माले बताउनुभयो ।
उहाँका अनुसार मैथली समाजले बिजुली बत्ति, सरसफाई, स्वयम्सेवक लगायत व्यवस्थापनको काम गर्दै आएको छ । छठ पूजाको अवसरमा आइतबार बेलुका ५ बजे भद्रपुर–५ देवीवस्तीस्थित सूर्यनारायण मन्दिर नजिकै गंगा आरती समेत गरिएको थियो ।
पर्वलाई व्यवस्थित बनाउन नेपाल र भारतका सुरक्षाकर्मीहरूले संयुक्त रूपमा गस्ती समेत गरेका थिए भने विभिन्न सामाजिक संघ–संस्थाले भक्तजनका लागि निःशुल्क पानी र चियाको व्यवस्थासमेत गरेका थिए ।
पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ । दोस्रो दिन ‘खरना’ गरिन्छ भने तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुन्छ ।
छठ पर्वमा पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्ने परम्परा छ । छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पर्व मनाउने चलनले सामाजिक सद्भाव र एकताको सन्देश दिने गरेको छ । सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वले परिवारको सुख, शान्ति, समृद्धि र कल्याण गर्ने जनविश्वास रहिआएको छ ।
कनकाईमा विशेष गंगा आरती
कनकाई माई नदीको पूर्वी किनारमा यस वर्ष पनि कनकाई छठ सेवा समाज, कनकाई–३ को आयोजनामा छठ पर्व भव्य रूपमा मनाइयो । छठ पर्वलाई विगतका वर्षभन्दा अझ विशेष, व्यवस्थित र आकर्षक बनाइएको थियो ।
समाजका अध्यक्ष खगेन्द्र महतोले यस वर्षको छठ पर्वलाई विशेष बनाउन विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको बताउनुभयो । उहाँका अनुसार कार्यक्रमको मुख्य आकर्षणका रूपमा भारतको वाराणसीबाट आएका अनुभवी पण्डितहरूको समूहले विशेष गंगा आरती गरिएको छ ।



