झापा, ३० कात्तिक । झापाको बिर्तामोड–२, चारपानेस्थित जिम्स फिटनेस सेन्टरले देउसीभैलो कार्यक्रमबाट संकलित रकम बोनम्यारो रोगबाट पीडित पाँच वर्षीय बालकको उपचारका लागि सहयोग गरेको छ।
सेन्टरले तिहारको अवसरमा आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट संकलित ३० हजार रुपैयाँ बिर्तामोड–५ निवासी बोनम्यारो ट्रान्सप्लान्ट गरिएका बालक उज्ज्वल ठाकुरको परिवारलाई हस्तान्तरण गरेको हो।

शनिबार आयोजित कार्यक्रममा सेन्टरका अध्यक्ष तथा सञ्चालक जेम्स उप्रेती, सल्लाहकार पार्वता गिरी, सदस्यहरू निशा तामाङ उप्रेती, शान्ता गिरी र नेम्सु तामाङले संयुक्त रूपमा उक्त रकम बालकका परिवारलाई हस्तान्तरण गरेका थिए।
सामाजिक कार्यमा सक्रिय रहँदै आएको सेन्टरका सञ्चालक उप्रेतीले बालकको स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। अन्य संघसंस्थासँग समन्वय गरेर उपचारका लागि थप आर्थिक सहयोग जुटाउने प्रयास गर्ने उनको भनाइ छ।
त्यस्तै, सेन्टरकी सल्लाहकार पार्वता गिरीले आफू विभिन्न सामाजिक संघसंस्थासँग आबद्ध रहेकाले ती संस्थासँग समन्वय र सहकार्य गरी बालकको उपचारका लागि आर्थिक सहयोग जुटाउन पहल गर्ने बताइन्। सोही अवसरमा शान्ता गिरीले व्यक्तिगत रूपमा एक हजार एक सय रुपैयाँसमेत सहयोग गरेकी थिइन्।
सेन्टरले स्थापनाकालदेखि नै विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ। खुला तीज मिलन कार्यक्रम, सरसफाइ अभियान, रक्तदान तथा लागूऔषधविरुद्धका सचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको सेन्टरले आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिने सञ्चालक उप्रेतीले जानकारी दिए।
यसैबीच, बालक उज्ज्वलको उपचारमा हालसम्म करिब ८० लाख रुपैयाँ खर्च भइसकेको उनकी आमा पिङ्की राजवंशी ठाकुरले जानकारी दिइन्। उनका अनुसार उज्ज्वल सात महिनाको उमेरदेखि नै बोनम्यारोसम्बन्धी रोगबाट पीडित छन्।
आँखाभरि आँसु पार्दै आमा पिङ्कीले देश तथा विदेशमा रहेका मनकारी व्यक्तिहरूलाई सहयोग गरेर छोराको जीवन बचाइदिन आग्रह गरिन्। आफू पनि बिरामी रहेको बताउँदै उनले भनिन्, ‘म पनि बिरामी नै छु, तर छोराको चिन्ताले आफ्नो रोग लुकाउन बाध्य छु।’
बालकका बुबा मुकेश ठाकुरले बिर्तामोडमा सैलुन सञ्चालन गर्दै आएका थिए। छोराको उपचारका लागि सैलुन बन्द गरेर आफूसँग भएको जायजेथा र आफन्तसँग ऋण लिएर भारतमा बोनम्यारो प्रत्यारोपण गराएको उनले बताए।
प्रत्यारोपणपछि पनि बालकमा पटक–पटक संक्रमण हुने समस्या देखिइरहेको र हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ।
बालकको उपचारमा सहयोग गर्न चाहने इच्छुक व्यक्तिहरूले उनका पिता मुकेश ठाकुरको नाममा ग्लोबल आइएमई बैंक, बिर्तामोड शाखामा रहेको खाता नम्बर ०७७०७०१०००७९५८ मा आर्थिक सहयोग जम्मा गर्न सक्नेछन्।



