बिर्तामोड, ३० कात्तिक । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा अन्तरगतको इकाइगत साधारणसभा मंसिर २१ गतेदेखि हुने भएको छ। संस्थाको मंसिर २१ गतेदेखि २८ गतेसम्म ७ वटा इकाइमा इकाइगत साधारणसभा हुने भएको हो । अन्तिम मूल माइन्युट प्रमाणिकरण भने पुस २ गते बिर्तामोडमा हुनेछ ।
संस्थाको सञ्चालक समितिको कात्तिक २० गते बसेको २७५ औं बैठकको निर्णयअनुसार साधारणसभा हुने भएको हो ।साधारणसभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८२–०८३ को वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, ऋण उपसमितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०८३–०८४ को प्रस्तावित कार्यक्रम र बजेटमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, सहकारी संस्था एकीकरण, सेवा केन्द्र समायोजन, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीको बैठक भत्ता र सञ्चालक समिति अध्यक्षको मासिक भत्ता निर्धारण गर्ने विषय पनि सभामा प्रस्तुत गरिनेछ ।
सभामा प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी निर्णय, खराब ऋण असुली योजना, ऋणको ब्याज–हर्जाना छुट, अपलेखन तथा मिनाहासम्बन्धी प्रस्तावमाथि समेत छलफल हुनेछ ।
यसैगरी, विनियम संशोधन, नीति तथा कार्यविधि संशोधन, बैंक तथा वित्तीय संस्था र सहकारी संस्थासँग आबद्ध रहेको छाता संघरसंस्थाको सदस्यता लिने, बाह्य कर्जा स्वीकार गर्ने तथा कर्मचारी दरबन्दी र नियुक्तिसम्बन्धी प्रस्ताव पनि साधारणसभाको कार्यसूचीमा समेटिएका छन् ।
सबै इकाइगत साधारणसभा बिहान ११ बजेदेखि सुरु हुने संस्थाले जनाएको छ । इकाइगत साधारणसभा सम्पन्न हुने स्थानको जानकारी सेवाकेन्द्रगत रूपमा पत्रमार्फत उपलब्ध गराइने र थप जानकारीका लागि संस्थाको सेवाकेन्द्र कार्यालयमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।
बिर्तामोड–४, झापामा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई साधारणसभामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।




