ताप्लेजुङ, ३० कात्तिक । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक महिनाको अवधिमा ६४ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिक महिनामा मात्रै ६४ हजार १०६ जना भक्तजनले मन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गरेका हुन्।

शनिबार एकै दिन ११ हजार २७२ जना भक्तजन पाथीभरा पुगेका थिए। पछिल्लो तीन वर्षयताकै एकै दिन मन्दिर दर्शन गर्ने भक्तजनको यो सबैभन्दा ठूलो सङ्ख्या भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो।
यसअघि कात्तिक १७ गते पनि १० हजार ६१६ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए। चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा कात्तिकमा सबैभन्दा बढी दर्शनार्थी पाथीभरा पुगेका हुन्।
समितिको तथ्याङ्कअनुसार असोजमा ११ हजार ९३०, भदौमा छ हजार १२३ र साउनमा दुई हजार ४६९ जनाले पाथीभराको दर्शन गरेका थिए।
पाथीभरा देवीको दर्शन गरे मनोकामना पूरा हुने धार्मिक जनविश्वासका कारण यहाँ हरेक वर्ष स्वदेशी तथा विदेशी भक्तजनको घुइँचो लाग्ने गरेको छ। वार्षिक रूपमा तीन लाखभन्दा बढी भक्तजन पाथीभराको दर्शनका लागि पुग्ने गरेका छन्।



