बिर्तामोड, ३० कात्तिक । झापाको कनकाई नगरपालिका–३ स्थित आफ्नै घरमा मृत भेटिएका ४३ वर्षीय योगेन्द्र खतिवडा (यशु खतिवडा) को शव परिवारले बुझेका छन्।
आइतबार आफ्नै घरको दोस्रो तलामा झुन्डिएको अवस्थामा भेटिएका खतिवडाको भद्रपुर अस्पतालमा पोस्टमार्टमपछि शव परिवारलाई हस्तान्तरण गरिएको हो। इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको जानकारी दिनुभयो।

कनकाईमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका खतिवडाको काठमाडौंमा थुनामा रहेका इनम सापकोटासँग सम्बन्ध रहेको भन्दै सामाजिक सञ्जालमा विभिन्न विवरण सार्वजनिक भएका छन्। तर, उक्त विषयमा प्रहरी अनुसन्धानबाट अहिलेसम्म कुनै तथ्य पुष्टि नभएको झापाकी प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बताउनुभएको छ।
यसैबीच, प्रहरीले खतिवडाको मोबाइल फोन सोमबार बिहान घरबाट बरामद गरेको छ। यसअघि मोबाइल फेला परेको थिएन। बरामद मोबाइल परीक्षणका लागि प्रहरी प्रधान कार्यालयको फरेन्सिक ल्याबमा पठाउने तयारी गरिएको डीएसपी पाठकले जानकारी दिनुभयो।
खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा इनम सापकोटाको नामबाट आएको सन्देश आफ्नो परिवार र निर्दोष बुवालाई फसाउन कसैले रचेको नाटक भएको उल्लेख गरेका थिए।
मृत्युअघि सामाजिक सञ्जालमा आफ्नो गल्तीको सजाय परिवारलाई नदिन आग्रह गर्दै उनले पोस्ट गरेको विवरणसमेत सार्वजनिक भएको छ। प्रहरीले उक्त पोस्ट तथा घटनासँग सम्बन्धित अन्य विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।



