झापा, १ मंसिर । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ। तराईका केही स्थानमा भने तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

कोशी प्रदेशको हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेशको हिमाली भूभागमा पनि आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।



