मोरङ, १ मंसिर । मोरङको रंगेली नगरपालिका–४ स्थित चोप्राहा बोर्डरबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित भारतीय दम्पती र उनीहरूका छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा मंगलबार बेलुका ७ः५० बजे इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT टोली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तीन जनालाई चेकजाँच गर्ने क्रममा ४० वर्षीया सकुन्तला पासवानले दाहिने हातको मुठीभित्र कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
बरामद पदार्थको तौल २९ ग्राम ४८० मिलिग्राम रहेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, थाना बोका मोजदार–२ मुस्लिम टोल निवासी अन्दाजी ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया श्रीमती सकुन्तला पासवान र उनीहरूका १८ वर्षीय छोरा करण पासवान रहेका छन् ।
प्रहरीले बरामद लागूऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



