झापा, १ मंसिर । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न पदमा १६ जना कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ ।
अस्पतालले मंगलबार सूचना जारी गर्दै स्टाफ नर्स १० जना, रेडियोग्राफी टेक्निसियन एक जना, ल्याब असिस्टेन्ट एक जना र अहेव चार जना माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर १५ गते कार्यालय समयभित्र अस्पतालमा आवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।
आवेदनका साथ आवेदकले शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित परिषद्को अद्यावधिक दर्ता प्रमाणपत्र, अनुभव तथा तालिमका प्रमाणपत्रको प्रतिलिपि र व्यक्तिगत बायोडाटा पेस गर्नुपर्नेछ ।
अस्पतालका अनुसार लिखित परीक्षा मंसिर २२ गते सञ्चालन हुनेछ भने प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता मंसिर २९ गते हुने तय गरिएको छ ।
करार सेवामा नियुक्त हुने कर्मचारीले अस्पतालको आवश्यकताअनुसार सम्बन्धित पदमा सेवा प्रदान गर्नुपर्नेछ ।



