झापा, १ मंसिर । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा करिब ९९ अर्ब रुपैयाँ खर्च गरेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोज मसान्तसम्म सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको हो ।

सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि चार खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकमको तुलनामा पहिलो तीन महिनामै उल्लेख्य रकम भुक्तानी भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण ३० खर्ब नौ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ४६ प्रतिशत हो ।
सार्वजनिक ऋण सरकारको आम्दानी तथा दायित्व व्यवस्थापनको एक महत्त्वपूर्ण स्रोत भएको कार्यालयका अधिकृत कृष्णप्रसाद शर्माले बताए । सरकारले सार्वजनिक ऋणमार्फत विकास परियोजना सञ्चालन तथा दैनिक कार्यका लागि आवश्यक खर्च व्यवस्थापन गर्दै आएको उनको भनाइ छ ।
कुल सार्वजनिक ऋणमध्ये चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा वैदेशिक ऋणको हिस्सा ५३.१३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत रहेको छ ।
सार्वजनिक ऋण व्यवस्थापनअन्तर्गत सरकारले ऋण उठाउने, सरकारी ग्यारेन्टी दिने, ऋणको साँवा तथा ब्याज भुक्तानी गर्ने र ऋण पुनर्संरचनासम्बन्धी कार्य गर्दै आएको छ ।
आन्तरिक ऋणलाई मुख्यतः अल्पकालीन स्रोतका रूपमा लिइन्छ । यसअन्तर्गत ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र जारी गरी सरकारले स्रोत जुटाउने गर्छ ।
त्यस्तै, वैदेशिक ऋणलाई दीर्घकालीन स्रोतका रूपमा लिने गरिएको छ । सरकारले विश्व बैंक, एसियाली विकास बैंकलगायत अन्तर्राष्ट्रिय वित्तीय संस्था तथा विभिन्न विदेशी सरकारबाट यस्तो ऋण प्राप्त गर्दै आएको छ ।



