झापा, ६ मंसिर । हालसम्म केवल विज्ञान–कथामा सम्भव रहेको एउटा कल्पना अब एकाध वर्षपछि नै वास्तविकतामा लगभग साकार हुने भएको छ । प्रविधि क्षेत्रका विश्वमै चर्चित एलन मस्कका अनुसार, उनको कम्पनी न्युरालिङ्कले सन् २०२८ सम्म मानिसले जनावरसँग कुराकानी गर्न सक्ने प्रविधि विकास हुने दावी गरिसकेका छन् । जुन आधिकारिक घोषणा भने होइन ।
न्युरालिङ्कले अहिले मानिसको मस्तिष्कमा जडान गर्न मिल्ने विशेष उपकरण विकास गरिरहेको छ । यो उपकरणले मस्तिष्कका कोषहरूबाट निस्कने विद्युतीय सङ्केतहरू पहिचान गर्छ र कम्प्युटरको सहायताले ती सङ्केतलाई डिजिटल आदेशमा बदल्छ । यसको मुख्य उद्देश्य पक्षाघात वा मेरुदण्डमा गम्भीर चोट लागेका मानिसलाई हात नचलाइकनै कम्प्युटर चलाउन, सन्देश लेख्न र अन्य विद्युतीय उपकरण नियन्त्रण गर्न सहयोग गर्नु हो ।

यस प्रविधिको परीक्षणमा केही मानिसले आफ्नै सोचाइको सहायताले कम्प्युटरको पर्दामा देखिने संकेत चलाउने, खेल खेल्ने र सन्देश लेख्ने जस्ता काम गर्न सफल भएका पनि छन् । यो चिकित्सा विज्ञानका लागि औधि महत्वपूर्ण उपलब्धि हो । तर, मानिसको मस्तिष्कका सङ्केत बुझेर कम्प्युटर चलाउनु र जनावरको मनमा के चलिरहेको छ भनेर बुझेर मानव भाषामा अनुवाद गर्नु भने सर्वथा फरक कुरा हुन् ।
किनकि कुकुरले आफ्नो वरिपरिको संसारलाई मुख्यतः गन्ध, आवाज र अनुभवका आधारमा बुझ्छन् । बिरालोको व्यवहार र संवेदना पनि फरक हुन्छ । डल्फिन, हात्ती, चराचुरुङ्गी र ह्वेलका आफ्नै प्रणाली छन् । त्यसैले उनीहरूको मस्तिष्कबाट प्राप्त सङ्केतलाई सिधै भाषामा बदल्न दिशामा वैज्ञानिकहरूले काम गरिरहेका छन् ।
केही अनुसन्धान परियोजनाले कृत्रिम बुद्धिमत्ताको प्रयोग गरेर ह्वेलको आवाज, डल्फिनका सङ्केत र चराहरूको चिर्बिर अध्ययन गरिरहेका छन् । उनीहरूले जनावरले निकाल्ने आवाज, उनीहरूको व्यवहार र एकार्कासँगको अन्तरक्रियालाई विश्लेषण गरेर ती सङ्केतको सम्भावित अर्थ पत्ता लगाउने प्रयास गरिरहेका हुन् ।
यदि भविष्यमा साँच्चै नै जनावरसँग उनीहरूले बुझ्ने भाषामै कुराकानी गर्न सकिने प्रविधि विकास भयो भने त्यो मानव इतिहासकै अति आश्चर्यजनक उपलब्धिमध्ये एक हुने छ । एजेन्सी



