बुधबारे, ६ मंसिर । झापाको बुद्धशान्ति गाउँपालिका–१ मा आयोजित बृहत् निःशुल्क आँखा शिविरमा ३१२ जनाको आँखाको परीक्षण गरिएको छ।
बुद्धशान्ति वडा नम्बर १ को समन्वयमा सत्य साई केन्द्र बुधबारेको आयोजना तथा सिद्धिविनायक गणेश मन्दिरको विशेष सहजीकरणमा शिविर सम्पन्न भएको हो।

शिविरमा परीक्षण गरिएकामध्ये २५ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ भने १३५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको आयोजकले जनाएको छ। त्यस्तै, शिविरका क्रममा सात जनाले मृत्युपछि आफ्नो आँखा दान गर्ने घोषणा गरेका छन्।
शिविरमा मेची नेत्रालय काँकडभिट्टाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो। डा. योगेन्द्र राउतसहित रोहन श्रेष्ठ, निरज सिँगेल, किरण थापालगायतको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो।
शिविरको औपचारिक उद्घाटन बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले गर्नुभएको थियो।
कार्यक्रममा वडा अध्यक्ष अनिल वाग्ले, कार्यपालिका सदस्य तुलसा खतिवडा रेग्मी, वडा सदस्यहरू लक्ष्मी कँडेल, मोहनकुमार राई, सुमित्रा रसाइली, सिद्धिविनायक गणेश मन्दिरका उपाध्यक्ष बसन्तकुमार तिम्सिना, सत्य साई केन्द्रकी अध्यक्ष बिना उप्रेती, भीम निरौलालगायतको आतिथ्यता रहेको थियो।



