झापा, ६ मंसिर । लामो समयदेखि अलपत्र परेको भोजपुर र उदयपुर जोड्ने दूधकोशी नदीमाथिको चुहार मोटरेबल पुल निर्माणले गति लिने भएको छ। पुलको डिजाइनमा देखिएको समस्या समाधान गरी भेरिएसन स्वीकृत भएसँगै निर्माण कार्य अघि बढ्ने भएको हो।
कोशी प्रदेश सरकारले अबको १८ महिनाभित्र अर्थात् २०८४ असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै पुलको पुरानो डिजाइनमा एक मिटर उचाइ थप गरिएको छ। यससँगै पुल निर्माणको लागत ४ करोड ८५ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता तथा पूर्वअर्थमन्त्री इन्द्रबहादुर आङ्बोलगायतको टोलीले आइतबार निर्माणस्थलको अनुगमन गरेको छ। टोलीले स्थानीय बासिन्दा र निर्माण व्यवसायीसँग छलफल गर्दै पुल निर्माण अब नरोकिने विश्वास दिलाएको हो।
मुख्यमन्त्री कार्की र मन्त्री आचार्यले बजेट अभाव हुन नदिई निर्धारित समयमै आयोजना सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले निर्माण व्यवसायीलाई पनि तोकिएको समयभित्र काम सम्पन्न गर्न निर्देशन दिएका छन्। समयसीमाभित्र काम पूरा नभए ठेक्का सम्झौता तोडेर कानुनी प्रक्रियाअनुसार आयोजना अघि बढाइने चेतावनीसमेत दिएका छन्।
कोशी प्रदेश पूर्वाधार विकास निर्देशनालयका निर्देशक इन्जिनियर सुशील श्रेष्ठका अनुसार पुलको भेरिएसन स्वीकृत भएसँगै निर्माण कार्य अघि बढ्नेछ। निर्माण कम्पनीका प्रतिनिधिले पनि अबको १८ महिनाभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए।
९० मिटर लामो र साढे १० मिटर चौडा स्टिल ट्रस पुलको सुरुको ठेक्का रकम २१ करोड २३ लाख १२ हजार ४०७ रुपैयाँ २१ पैसा थियो। भेरिएसनपछि लागत बढेर २६ करोड ८ लाख ३६ हजार ७२६ रुपैयाँ ७७ पैसा पुगेको छ। यसअनुसार ४ करोड ८५ लाख २४ हजार ३१९ रुपैयाँ ५६ पैसा अर्थात् २२.८६ प्रतिशत लागत वृद्धि भएको हो।
पुलमा प्रयोग हुने स्टिल संरचनाको परिमाण पनि ३६४.७७ मेट्रिक टनबाट बढाएर ४९५.६६ मेट्रिक टन पुर्याइएको छ। निर्देशनालयका अनुसार हालसम्म पुलको भौतिक प्रगति १९.७० प्रतिशत र वित्तीय प्रगति १९.५० प्रतिशत रहेको छ।
उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी र भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुरस्थित चुहार जोड्ने यो पुल निर्माण नहुँदा दक्षिणी भोजपुरका हतुवागढी, रामप्रसाद राई र आमचोक गाउँपालिकाका नागरिकले वर्षौंदेखि सास्ती भोग्दै आएका छन्।
मोटरेबल पुल नहुँदा स्थानीयले नदीपारि सामान पुर्याउन भरियाको भर पर्नुपर्ने र तराईका बजारसम्म पुग्न लामो दूरी घुम्नुपर्ने बाध्यता छ। पुल निर्माण सम्पन्न भएपछि दक्षिणी भोजपुरका बासिन्दालाई उदयपुर हुँदै धरान, इटहरीलगायत तराईका बजारसम्म पुग्न सहज हुनेछ। कृषि उपजको ढुवानी, व्यापार, उपचार तथा दैनिक आवागमनमा समेत राहत पुग्ने अपेक्षा गरिएको छ।
२०७७ असोज २६ गते शिलान्यास गरिएको पुल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, पाँच वर्ष बितिसक्दा पनि पुलले पूर्णता पाउन सकेको छैन। अब भेरिएसन स्वीकृतिसँगै निर्माणले गति लिने र २०८४ असार मसान्तसम्म पुल सञ्चालनमा आउने अपेक्षा स्थानीयले गरेका छन्।



