झापा, ६ मंसिर । त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा भारतीय टोली गयेसपुर वुमन फुटबल एकेडेमीलाई १०–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो।
आर्मीको जितमा चन्द्रा भण्डारी र हेमा चौधरीले ह्याट्रिक गरे भने सुक्रिया मियाले दुई तथा जेनिफर राना मगर र दिपा शाहीले एक–एक गोल गरे।

खेलको प्लेयर अफ द म्याच चन्द्रा भण्डारी घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन्। कतारमा रहेका तेक्वान्दोका पूर्वराष्ट्रिय खेलाडी ज्याकी चानले पनि प्रोत्साहनस्वरूप थप १५ हजार रुपैयाँ प्रदान गरे।
प्रतियोगिताअन्तर्गत सोमबार सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब र भुटानको थिम्पु राभेन वुमन एफसीबीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ। प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।



