झापा, ९ मंसिर । युरोपमा आकर्षक रोजगारी र राम्रो आम्दानीको आशा बोकेर रोमानिया पुगेका सयौँ नेपाली श्रमिक सम्झौताअनुसार काम, पारिश्रमिक र सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।
रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत करिब ६ सय नेपाली श्रमिकले विरोध प्रदर्शन गर्दै न्यायको माग गरेका हुन् । उनीहरू ‘वी वान्ट जस्टिस’ को नारा लगाउँदै कम्पनीविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।


श्रमिकहरूका अनुसार नेपालबाट प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँसम्म खर्च गरेर रोमानिया पुगे पनि सम्झौताअनुसार नियमित काम र पारिश्रमिक पाउन सकेका छैनन् । नेपालबाट प्रस्थान गर्नुअघि गरिएको सम्झौता र रोमानिया पुगेपछिको वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको उनीहरूको गुनासो छ ।
एक श्रमिकका अनुसार कम्पनीले महिनामा मुस्किलले दुई दिन मात्र काम दिने गरेको छ । बाँकी समय कामविहीन भएर कोठामै बस्नुपर्ने बाध्यता रहेको छ । लाखौँ रुपैयाँ ऋण लिएर विदेश पुगे पनि आम्दानी नहुँदा ऋण तिर्न र दैनिक खर्च धान्नसमेत कठिन भएको उनीहरूले बताएका छन् ।
‘नियमित काम पाउने आशमा लाखौँ रुपैयाँ खर्च गरेर आएका हौँ । तर यहाँ आएपछि महिनामा दुई दिन पनि काम पाइएको छैन । सम्झौताअनुसार पारिश्रमिकसमेत दिइएको छैन,’ आन्दोलनमा सहभागी एक श्रमिकले भने ।
सम्झौतापत्रमा उल्लेख भएको आधारभूत पारिश्रमिक र वास्तविक भुक्तानीमा समेत ठूलो अन्तर रहेको श्रमिकहरूको आरोप छ । पछिल्लो समय आवास सुविधाका नाममा तलबबाट रकम कटौती गर्न थालेपछि उनीहरूको असन्तुष्टि थप चुलिएको छ । सम्झौताअनुसार काम, पारिश्रमिक र सेवा–सुविधा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।
रोमानियाको पछिल्लो घटनाले त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्यालाई पुनः सतहमा ल्याएको छ । सरकारी अभिलेखमा ५० देखि ५५ हजार नेपाली रहेको देखिए पनि हाल रोमानियामा करिब ७५ देखि ८० हजार नेपाली कार्यरत रहेको अनुमान छ ।
युरोपमा राम्रो आम्दानी हुने आशामा म्यानपावर कम्पनी र एजेन्टमार्फत ठूलो रकम खर्च गरेर जाने श्रमिकले मासिक ६ सय युरो कमाउँदासमेत ऋण र दैनिक खर्च धान्न कठिन भइरहेको बताइन्छ ।
रोमानियामा नेपालीको संख्या बढेसँगै मृत्यु, बेपत्ता र आत्महत्याजस्ता घटनासमेत देखिन थालेका छन् । तर, त्यहाँ नेपालको आफ्नै दूतावास वा कन्सुलर कार्यालय नहुँदा समस्यामा परेका नेपालीले तत्काल कूटनीतिक सहयोग पाउन कठिन हुने गरेको छ । हाल जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले रोमानियाको कूटनीतिक मामिला हेर्दै आएको छ ।
रोमानियामा कार्यरत नेपाली श्रमिकको गुनासो सार्वजनिक भएपछि नेपाल सरकारले समस्या समाधानका लागि पहल थालेको छ । श्रम मन्त्रालयले बर्लिनस्थित नेपाली दूतावास र वैदेशिक रोजगार विभागसँग समन्वय गरी श्रमिकको अवस्था बुझ्ने र उनीहरूको अधिकार संरक्षण गर्ने प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयको समन्वयमा वैदेशिक रोजगार विभागले रोमानियामा समस्यामा परेका नेपाली श्रमिकसँग ह्वाट्सएपलगायत डिजिटल माध्यमबाट प्रत्यक्ष सम्पर्क गरी गुनासो तथा आवश्यक सूचना संकलन गरिरहेको जनाएको छ ।
यसैबीच, विभागले रोमानियामा श्रमिक पठाउने इजाजतपत्रप्राप्त म्यानपावर कम्पनी तथा वैदेशिक रोजगार व्यवसायी संस्थाहरूको भूमिकामाथि अनुगमन र छानबिन सुरु गरेको छ । श्रमिक भर्ना प्रक्रिया, छनोट विधि र सेवा शुल्कको पारदर्शिताबारे अध्ययन भइरहेको विभागले जनाएको छ ।
अनुगमनका क्रममा गैरकानुनी सेवा शुल्क असुलेको, भ्रामक सूचना दिएको, श्रमिकमाथि अनुचित दबाब सिर्जना गरेको वा रोजगारीका सर्तमा अनियमितता गरेको प्रमाण भेटिए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने सरकारले चेतावनी दिएको छ ।
लाखौँ रुपैयाँ ऋण लिएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक गन्तव्य मुलुक पुगेपछि सम्झौताअनुसार काम र पारिश्रमिक नपाउने समस्या पटक–पटक दोहोरिँदै आएको छ । रोमानियाको पछिल्लो घटनाले वैदेशिक रोजगारका नाममा देखाइने आकर्षक सपना र वास्तविकताबीचको अन्तरलाई पुनः उजागर गरेको छ ।
नेपाली श्रमिकको बढ्दो उपस्थितिलाई ध्यानमा राख्दै सरकारले तत्कालीन समस्या समाधानसँगै भविष्यमा यस्ता घटना दोहोरिन नदिन भर्ना प्रक्रियाको नियमन, अनुगमन र कूटनीतिक समन्वय प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
