झापा, ९ मंसिर । पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक महिनामा राजस्व सङ्कलन लक्ष्यभन्दा १० प्रतिशत बढी गरेको छ ।
कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार कात्तिकमा एक अर्ब ३५ करोड १३ लाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त महिनाका लागि एक अर्ब २३ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएको थियो । कार्यालयले लक्ष्यको तुलनामा ११० प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना भने कार्यालयले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेको थिएन । साउनमा एक अर्ब ४३ करोड ५० लाख रुपैयाँ लक्ष्य रहेकामा एक अर्ब २७ करोड ९८ लाख ३७ हजार रुपैयाँ मात्र सङ्कलन भएको थियो ।
त्यस्तै, भदौमा एक अर्ब ६४ करोड रुपैयाँ लक्ष्य निर्धारण गरिएकामा एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार रुपैयाँ र असोजमा एक अर्ब ८४ करोड ५० लाख रुपैयाँ लक्ष्य रहेकामा एक अर्ब ८३ करोड ७३ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
पहिलो तीन महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेको कार्यालयले कात्तिकमा भने लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भएको हो ।

