झापा, ९ मंसिर । झापाको अर्जुनधारा नगरपालिकाले नगरभित्रका गरिब तथा विपन्न परिवारका बालबालिकालाई सहुलियतमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन दमकस्थित किओच–दमक बाल अस्पतालसँग सम्झौता गरेको छ ।
यही मंसिर ८ गते भएको सम्झौताअनुसार नगरपालिकाले बालबालिकाको उपचार तथा आवश्यक उपकरण खरिद अनुदानका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ । सम्झौतापत्रमा अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर डा. जयमणि श्रेष्ठ तथा नगरपालिकाका तर्फबाट उपप्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत दिनेश ढुंगानाले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार नगरपालिकाका प्रमुख, उपप्रमुख वा प्रमुख प्रशासकीय अधिकृतको सिफारिसमा अस्पताल पुग्ने गरिब तथा विपन्न परिवारका बालबालिकाले सहुलियत दरमा उपचार तथा औषधि सेवा पाउनेछन् ।
शल्यक्रिया तथा जटिल स्वास्थ्य समस्याको उपचारमा बिल भरपाईका आधारमा प्रतिबिरामी ३० हजार रुपैयाँसम्म सहुलियत उपलब्ध गराइनेछ । त्यस्तै, साधारण स्वास्थ्य उपचारका लागि १० हजार रुपैयाँसम्मको खर्च नगरपालिकाले बेहोर्ने सम्झौतामा उल्लेख छ ।
आकस्मिक अवस्थामा नगरपालिका अन्तर्गतका सरकारी स्वास्थ्य संस्थाबाट प्रेषण भई आएका बालबालिकाको अस्पतालले तत्काल उपचार सुरु गर्नुपर्नेछ । नगरबासी भएको प्रमाण र अभिभावकको नागरिकतासहित अस्पताल पुग्ने बालबालिकाको उपचारमा ढिलाइ नगरी यथाशीघ्र नगरपालिकाको स्वास्थ्य शाखालाई जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ ।
सम्झौताअनुसार अस्पतालले नगरपालिकाका बालबालिकाको स्वास्थ्यसम्बन्धी अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्ने र त्यसबाट प्राप्त उपयोगी सूचना नगरपालिकाको स्वास्थ्य शाखालाई उपलब्ध गराउनेछ ।
अस्पतालले उपचार खर्चको बिल भरपाई र विवरणसहित प्रत्येक तीन महिनामा नगरपालिकामा भुक्तानी दाबी पेस गर्नुपर्नेछ । मंसिर ८ गतेदेखि लागू भएको सम्झौता २०८४ असार मसान्तसम्म कायम रहनेछ । विनियोजित ५ लाख रुपैयाँ अपुग भएमा आपसी समझदारीमा थप बजेटका लागि पहल गरिने सम्झौता पत्रमा उल्लेख छ ।
आर्थिक अभावका कारण विशेषज्ञ बाल स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै विपन्न परिवारका बालबालिकालाई सहज र गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।

