झापा, १३ मंसिर । नेपाल सरकारको सहलगानीमा झापाको मेचीनगर नगरपालिका–९ मा निर्माण भएको धुलाबारी खानेपानी आयोजना निर्धारित समयभन्दा १३ महिनाअघि नै सम्पन्न भएको छ। ३० महिनाको निर्माण अवधि तोकिएको आयोजना १७ महिनामै सम्पन्न भएपछि विधिवत् उद्घाटन गरिएको हो।
२०८२ असार २ गते शिलान्यास भएको आयोजनाको निर्माण विसं २०८४ पुस मसान्तसम्म सम्पन्न गर्ने सम्झौता थियो। तर निर्माण कम्पनीले निर्धारित समयभन्दा अगावै काम सम्पन्न गरेपछि खानेपानी सेवा सञ्चालनको बाटो खुलेको हो।

धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्रीका अनुसार आयोजनाको कुल लागत १० करोड ४० लाख ९९ हजार ६४८ रुपैयाँ रहेको छ। आयोजनाको निर्माण ठेक्का काठमाडौँस्थित ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालिले पाएको थियो।
निर्माण कम्पनीका सञ्चालक पारस लामिछानेले ३० महिनाको म्याद पाएको आयोजना १९ महिनामै सम्पन्न गरिएको जानकारी दिएका छन्। आयोजनामा नेपाल सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ता समितिको ३० प्रतिशत लागत सहभागिता रहेको छ।
आयोजना सञ्चालनमा आएपछि मेचीनगर नगरपालिकाका वडा नम्बर ९, १०, ११, १४ र १५ का ३ हजार ४२४ घरपरिवारका १५ हजार ५१ जना प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष खत्रीले बताए।
आयोजनाअन्तर्गत ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की, दुईवटा डिप बोरिङ, दुईवटा पानी प्रशोधन प्लान्ट र १०७ किलोमिटर पाइपलाइन निर्माण गरिएको छ। त्यसैगरी, एक–एकवटा अपरेटर हाउस र जेनेरेटर घर तथा ४५ वटा भल्भ च्याम्बर निर्माण गरिएका छन्।
आयोजनाका लागि स्वर्गीय टङ्कप्रसाद भट्टराई र स्वर्गीय रूपादेवी भट्टराईले जग्गादान गरेका थिए। स्थानीयको जग्गादान, सरकारी अनुदान र उपभोक्ताको लागत सहभागितामा निर्माण सम्पन्न भएको आयोजनाले पाँचवटा वडाका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने अपेक्षा गरिएको छ।

