
ज्याक खड्का
टोकियो, ११ वैशाख । जापानको सार्वजनिक पार्कमा एक नेपाली युवाले झुन्डिएर आत्महत्या गरेका छन् । जापानको राजधानी टोकियोमा परिवारका साथमा बस्दै आएका २४ वर्षीय युवा विनय खड्काले आत्महत्या गरेका हुन् ।
यहाँको प्रहरीले खड्काले राजधानी टोकियोको निशिगाहारा रेल स्टेसन नजिकै रहेको पार्कमा मङ्गलबार बिहान आफैंले लगाएको कपडाले पासो लगाएर आत्महत्या गरेको पुष्टि गरेको छ ।
पार्कमा रहेको सिसिटिभी क्यामेरामा कैद भएको भिडियो हेर्दा खड्काले आफैँले लगाएको कपडा फुकालेर पार्कमा रहेको रुखमा झुन्डिएर आत्महत्या गरेको पाइएको प्रहरीले जानकारी दिएको दिनेश गुरुङले जानकारी दिए।
मृतक बिनय खड्काका पिता महेन्द्र खड्काका साथी गुरुगंले दिएको जानकारी अनुसार आत्महत्याको बास्तविक कारण खुल्न सकेको छैन ।
आत्महत्याको अघिल्लो दिन साँझ विनय कामतामा रहेकी श्रीमतीलाई लिन जान्छु भनी हिँडेका थिए । कामता ससुराली पुगेपनि श्रीमतीसँग भेट नभएपछि फोनमानै कुराकानी गरेर फर्केका उनले पार्कमा पुगेर आत्महत्या गरेका छन् ।
पछिल्लो समय श्रीमतीसँग घरायसी बिवाद रहेको बताइएका विनयले आवेशमा आएर सोही कारण आत्महत्या गरेको ठानिएको छ । विनय परिवारको डिपेन्डेन्ट भिसामा जापानमा बस्दै आएका थिए ।
राजधानी टोकियोमा रेष्टुरेन्ट लगायत व्यवसाय गर्दै आएका महेन्द्र खड्का मृतक विनयका पिता हुन् । जापानमा श्रीमती र एकमात्र छोरा विनयसँगै रहँदै आएका खड्काको एकमात्र छोरी भने नेपालमा अध्ययनरत रहेको बुझिएको छ ।
यसैबीच हाल ताकिनोगावा प्रहरी चौकीमा रहेको विनयको जापानमै दाहसंस्कार गरिने भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

