
जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दैछन् । जापानको इम्पेरियल दरवारभित्र विभिन्न रितीरिवाज सम्पन्न भइसकेपछि अकिहितोले आफुले राजगद्धी त्याग गरेको घोषणा गर्नेछन् । योसंगै जापानको २०० सय बर्ष लामो इतिहासमा राजगद्धी त्याग्ने अकिहितो पहिलो राजा बन्नेछन् ।
उनले आफनो बढ्दो उमेर र प्रतिकुल स्वास्थका कारण राजगद्धि त्याग्न लागेको जापानी संसदले जनाएको छ । ८५ बर्षीय यी राजाले राजगद्धी त्याग गरेसंगै भोली जापानले नयाँ राजा पाउँनेछ । यसपछि अब ५९ वर्षिय नरुहितोले राजगद्धी सम्हाल्नेछन् । भोली उनलाई औपचारिकरुपमा राजा घोषित गरिनेछ ।
नयाँ राजा बन्ने तयारीमा रहेका नरुहितो बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट दिक्षित हुन् । २८ वर्षको उमेरमा उनी युवराजधिराज बनेको थिए । जापानमा राजसंस्थाको राजनीतिमा कुनैपनि भूमिका छैन । तर जापानी इतिहासमा राजसंस्था एउटा ठूलो प्रतिकका रुपमा रहँदै आएको छ ।
जापानको राजसंस्था विश्वकै सबैभन्दा पुरानो राजसंस्था हो । यसलाई २६ सय १८ वर्ष पुरानो मानिँदै आएको छ । यता नयाँ राजा घोषणा हुने अवसरलाई जापानले चाडकै रुपमा मनाउने भएको छ । सोहीकारण १० दिन सार्वजनिक बिदाको घोषणा गरिएको छ । जापानी सरकारले आफ्ना जनतालाई यस अवसरलाई एउटा उत्सवको रुपमा मनाउन आग्रह गरेको छ । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

