
दुबई, २५ जेठ । दुबईको शेख मोहम्मद बिन जाएन रोडमा एक यात्रुबाहक बस दुर्घटना हुदाँ कम्तीमा १७ व्यक्तिको मृत्यु भएको छ ।
कुल ३१ यात्रु सवार रहेको सो बस सङ्केतचिह्नमा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । सो बस दुर्घटनामा परी विभिन्न देशका नागरिकहरुको ज्यान गएको बताइएको छ । अधिकारीहरूका अनुसार यस दुर्घटनामा परी आठ भारतीय नागरिकको मृत्यु भएको छ । करिब ५० वर्षीया चालक घाइते भएका र उनको उपचार भईरहेको अधिकारीहरुको भनाई छ ।
दुबई प्रहरीले सामाजिक सञ्जाल ट्विटरमार्फत् दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई समवेदना व्यक्त गरेको र दुर्घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिएको छ । दुबई प्रहरीका प्रमुख अब्दुल्लाह खलिफा अल मार्रीले सवारीसाधन चलाउँदा सानो गल्ती वा लापरबाही हुँदा नराम्रो परिणाम आउने स्मरण गराउनु भएको छ
। दुबईस्थित भारतीय दूतावासले मृत्यु भएका भारतीय नागरिकको नाम सार्वजनिक गरेपनि घटनाको संपूर्ण विवरण आधिकारिक रूपमा प्राप्त भइनसकेको बताइएको छ । यस दुर्घटना अन्य भारतीय नागरिक पनि घाइते भएका र उनीहरुको उपचार भइरहेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

