
‘हैन एइ केटा ! मैले एउटा कुरा पिटिस्सै बुझिन । अनेकै बुद्धि–अक्कल लगाउँदा पनि कुरोको चुरो पक्रिन सकिन । लु भन् त, हाम्रो देशमा राजनीति गर्नु भनेको के गर्नु हो ? जिब्रोलाई छुरा बनाएर जताततै ध्वनि प्रदूषण गदैर् भाषण डुक्रिंदै हिंड्नु राजनीति हो कि ? तिघ्रे–पाखुरे जुल्पे कुण्डले मुन्द्रे झ्याप्ले खोयेहरूलाई पछि लगााएर हिंड्नु राजनीति हो कि ? उद्योगी व्यापारी साहू महाजनका गद्दी चाहरेर चन्दा उठाउँदै हिंड्ने काम राजनीति हो कि ? माफिया तस्कर ठग… हरूसँग मित्रताको हात मिलाउँदै हिंड्दा पो राजनीति हुन्छ कि ? अलि–अलि पढे लेखेको हुँ भन्छस्; लु यो कुराको टुङ्गो लगा त’ भन्दै माइला बा आएर आँगनमा घोप्ट्याएको डोकोमा बसे ।
आफ्नो अठाह्र काम बितेको बेलामा के को अत्तो थाप्दै आए यी बुढा ! मैले दिग्दारी किसिमले भनें– तपाईंलाई किन चाहियो राजनीतिका कुरा ? बुढेसकालमा राजनीति गर्न मन लाग्यो कि क्या हो ? राजनीति गनेर्हरू सुकिला–मुकिला छन्, सधैं गाडी चिलगाडीमा हिंड्छन्, मीठोमसिनो खान्छन् । खसी–कुखुराको खुट्टाले दतिवन गर्छन् विदेशी रक्सीले कुल्ला गर्छन् । घरकीले मात्रै नभएर परकीको पनि व्यवस्था गर्छन् । तलको सानो राजनीति गनेर्हरू पैसो उठाउँदै हिंड्छन् भने ठूलो भएर माथिको राजनीति गर्न थालेपछि ब्रिफकेशभरि पैसा बोकेर घरमै पुर्याउन ल्याउँछन् । देश विदेश घुम्न पाइन्छ, त्यो पनि सित्तैमा ! रोगबिराम लाग्यो भने सरकारी पैसामा विदेशमा गएर उपचार गर्न पाइन्छ । लु माइला बा ! तपाईं पनि बित्थाँ खसीलाई घाँस काटेर के बस्नु हुन्छ, अब त्यतै लाग्नुहोस् । तपाईंको उमेर पनि राजनीति गनेर् मन्त्री, प्रधानमन्त्री खाने ठीक्क भयो । राजनीतिमा जति बुढो भयो, त्यति सक्षम र योग्य भइन्छ । भोलिदेखि नै भिड्नुहोस् राजनीतिमा भनेर बुढालाई उल्क्याइदिएँ ।

बुढाले भने– ‘हो त यी यतैतिरका राजनीतिमा लागेका ठेउका ठेट्नाहरू दुई–चार वर्षमै भट्भटे र कारमा सुइँक्या देख्छु । साहू महाजनहरूसँग बाक्लै उठबस गर्या देख्छु । व्यापार व्यवसाय, जागिर, केही छैन; घरको काममा पनि निहुरिंदैनन् । तर पनि पैसाको खाँचो छैन । सधैं ऐठनपानी अचाउँछन्, साँप्रा चबाउँछन् । खै कसरी कहाँबाट झार्छन् पैसो ? काम नगरी फल्ने राजनीति पक्कै पनि निकै टेसिलो हुँदो हो । झलझली यिनीहरूकै मात्र तमाशा हेरेर के बस्नु ? आफू पनि लागौं जस्तो त लाग्छ, तर राजनीति गर्न सबैभन्दा पहिले के गर्नु पर्छ, के गर्दा राजनीति हुन्छ ? राजनीति गर्नु भनेको के हो ?… यही कुराले मलाई अठ्याङ परेर तँसँग सोध्न बुझ्न आएको । यसको राम्ररी बेलिबिस्तार लगाई दे त !’
मैले बुढालाई सोधें– तपाईं कहिल्यै जेल पर्नुभएको छ ? दुई–चार मान्छेलाई गिँड्नु भएको छ ? सरकारी पैसो अपहरण गरेर झ्याप् पार्नुभएको छ ? हुलहुज्जत, ढुङ्गा–मुडा गरेर कहिल्यै आतङ्क मच्चाउनु भएको छ ? स्कूल कलेज पढ्दा मास्टर कुट्नु भएको छ ? लूटपाटको स्वाद लिनुभएको छ ? झुटो कुरालाई पनि साँचो सत्य हो भनेर मान्छेले झण्डै पत्याउनेगरी भाषण गर्नुभएको छ ? गाउँठाउँमा सोझा सिधा मान्छेलाई उचालपछार गरेर झगडा लाइदिएर त्यसको बीचबाट आयआर्जन गर्न सिक्नु भएको छ ? माफिया, तस्करहरूलाई तर्साएर महिनामारी उठाउने सीप कौशल तपाईंसँग छ ? माथिका नेतालाई भनसुन गरेर कर्मचारीहरूको सरुवा बढुवा गराउन सक्ने ल्याकत छ ? चुनावको मौकामा पैसाको चौका हान्ने खुबी छ ? चुनावमा आर्थिक कमिटीमा बसेर घर–जग्गा जोड्न सक्नु हुन्छ ? गुण्डाहरूलाई रक्सी खुवाएर, पैसा दिएर पाल्न सक्नु हुन्छ ? फलानालाई सिध्याएर आइज भन्दा फस्र्याउन सक्ने मान्छे तपाईंसँग छन् ? चुनावको बेलामा पार्टीको टिकट किन्न र खर्चका लागि एक–दुई करोड रुपैयाँ साँचेर राख्या छ ? टिकट पाउनुभयो भने आठ–दश हजारका दरले मत किन्न सक्नु हुन्छ ? अकोर् पार्टीको मान्छेको चिहान खोतल्न सक्नु हुन्छ ? तपार्इंले जानेको गालीको शब्द कति छन्, विरोधी पार्टीका मान्छेलाई असिना वर्षिए झंै गालीका शब्द वर्षाउन सक्नु हुन्छ ? स्थानीय कुलो, पैनी, बन, खानेपानी, सहकारी… आदि जस्ता ठाउँमा बसेर कसैले थाहा नपाई रस चुस्न सिक्नु भएको छ ? यी कुरा र यस्तै अन्य कुरा जान्नु सिक्नु भएको छ भने तपाईं ढुक्कसित राजनीतिमा जानु । होइन भने तपार्इंका तिनै खसीलाई घाँस काटेर बस्तै जित्नु हुन्छ । विकास निर्माणको काम गदैर् गरेको ठेकेदारलाई हर्काएर एउटासम्म भट्भटे फुत्काउन सक्नु हुन्छ ? हाम्रो देशको सन्दर्भमा राजनीतिको शुरुवात यसरी नै हुन्छ र हुँदै आएको छ । यति कुरा जानेको छ भने तपार्इं भोलिदेखि नै राजनीतिको फिल्डमा उत्रिहाल्नु होस् । राजनीति गर्नु भनेको यिनै र यस्तै काम गर्नु हो ।
बुढा छक्क परेर एकछिन मेरो मुखमा हेरिरहे अनि भने– ‘हैन होउ केटा ! तैले आफ्नो माइलाबालाई अहिलेसम्म चिनेको छैनस् ? त्यस्ता फटाइँ पातकी दुष्ट क्षुद्र काम मबाट हुन्छ ? अहिलेसम्म बिना श्रम पसिनाको एक गेडो अन्न मेरो मुखमा परेको छैन । तैले सोधेको जस्तो काम मबाट कतै होला त ! बरु भोकै बस्छु, तर अर्काको सम्पत्तिमा राल चुहाउँदिन । चोरेर, लुटेर, धुतेर, कसैलाई झुक्काएर, छक्काएर, घुसखोरी गरेर, भ्रष्टाचारी भएर, सद्दे मान्छेलाई गिँडेर, भट्टामा डढाएर राजनीति गर्नु भनेको नर्क बराबर हो । बरु भोकै मर्छु, त्यस्तो काम मबाट हुँदैन ।’…
‘…अँ, तैले सोधेको कुराको उत्तर सुन्– उहिल्यै जंगलमा हलो काट्न जाँदा बनजाँचेले पक्रिएर सात दिन थुनेको थियो । एक हजार घुस दिए छोड्दिन्छु् भन्थ्यो । आफूसँग भए पो दिनु । त्यही रुख काटेर बडेमानको मुढा लैजाने ट्रयाक्टरलाई चैं पक्रेन, रुखको टुप्पोको हलो बनाउने मलाई चैं पक्रियो । त्यसैले म पनि पञ्चायतलाई छोडेर बहुदलमा लाग्या थिएँ । सरकारी पैसो झ्याप् पानेर् कुरो चैंं सत्तरी वर्ष नाघेपछि बृद्धभत्ता दिंदैछन्, त्यो चैं खाइँदैछ । ढुङ्गा–मुडा उहिले कति गरियो गरियो । खेतीबालीमा बाँदर आउँथे, ढुङ्गाले गोहोर्यार नखेदे भात खानै नपाइने । खोरका बाख्रा खान चितुवा तस्करहरू आउँथे, त्यसलाई पनि हाट्टहुट्ट गरेर हर्काएर खेदेकै हो । चुनावका बेलामा पैसा लिने त कुरै भएन, एक–डेढ सय चन्दा दिएको हो । त्यसबेलामा मज्जैले खाएको चैं नमस्कार नै हो । पहिले मन्त्री भइसकेको मान्छेले पनि पटक–पटक नमस्कार टक््रयाएका हुन् । अँ…रक्सी खाने खुवाउने कुरा गरिस्, त्यो शब्द आइन्दा मेरा अगाडि उच्चारण नगरेस् ।’
मैले भनें– लु माइलाबा, मैले कुरो बुझें तपाईंबाट राजनीति हुँदैन । अर्काले के के खाए, गरे भनेर आह्रिस नगर्नुहोस् । राजनीतिमा परिआइलाग्दा बाबु काका दाजु भाइ छोरो मामा पनि मार्न सक्नु पर्छ । यस्तो काम तपाईंबाट पार लाग्दैन । भ्रष्टाचार गरेर सात पुस्ताको भुँडी भनेर् सम्पत्ति नकुम्ल्याउने, कमिशनको खेलोफड्को गरेर परल दामभन्दा चौब्बरमा सरकारी बन्दोबस्तीका सामान किन्न लगाउने, दुई–चार वटी रखैल राख्न नसक्ने, रक्सीमा पौडी खेल्न नजान्ने, जुवा खेल्ने र त्यसमा तिर्की गर्न नसक्ने, मान्छे मार्न आँट नगनेर्, आफ्नै पसिनाको मात्रै कमाइ खाने तपाईं जस्ता गौप्राणीबाट राजनीति चल्दैन । तपाईंका निम्ति राजनीति भनेको दूरदेशमा बस्ने गरीब जनतालाई अरब–खरबको बजेट भाषण जस्तो मात्रै हो – जुन कुरो तपार्इं समक्ष कहिल्यै आइपुग्दैन । हाम्रो बजेट यति खरबको, हाम्रा नेताको विदेशी बैंकमा यति अरब छ भन्दै गीत गाएर बस्ने मात्रै हो ।
बुढाले निकैबेर गम खाए अनि बोले– ‘लु भइगो म राजनीतितिर जान्न । पैसाको राशमाथि उक्लिने मन मर्यो, तर तेरो कुरा अनुसार त राजनीतिमा लाग्ने सबै मान्छे त्यस्तै तैंले भनेजस्तै छन् त ? इमान्दार, देशभक्त, जनप्रिय कोही छैनन् ? सबै भ्रष्टाचार गनेर्, सरकारी रकमलाई तरकारी बनाउने, नैतिकता र इमान नभएका, रक्सीमै पौडिने, रखैल राख्ने… यस्तै मात्रको जमात हो त राजनीतिक समाज ? तेरो कुरो मलाई चित्त बुझेन ।’
बाबै बल्ल ठेगानमा आए भन्ने विचार गदैर् मैले भनें– बोरामा आधासरो आलु कुहिएपछि बाँकी रहेका आलु बिग्रिंदैनन् ? अहिले त्यही भइरहेको छ । धेरै मान्छे अहिले नेता सांसद बनेका छन्; तर केही बोल्न, गर्न सक्तैनन्, बैठकमा पनि जाँदैनन् गए पनि बस्तैनन् । बसे पनि निदाउँछन्, उनीहरू हुनु र नहुनुको कुनै अन्तर छैन । ठूला नेताले यसो बोल् भन्यो भने त्यसै बोल्छन्, यहाँ भोट हाल् भन्यो भने त्यहीं हाल्छन् । सबै गोपी कृष्ण कहो हुन् । विधि विधान बनाउने, राज्य सञ्चालन गनेर् जम्मा दुई–अढाई दर्जन मान्छे होलान् । बाँकी सांसदहरू मुख बाँधेर राखिएका आलुका बोरा जस्तै हुन् । आवश्यक परेका बेलामा बोरा घोप्ट्याएर गन्ती गर्यो, अनि फेरि बटुलेर बोरामै हाल्यो, मुख बाँध्यो, ठड्याएर राख्यो, बस्…। आफ्नो वैयक्तिक बुद्धि विवेक तर्क योजना सबै ठूला नेतालाई जिम्मा लगाएर सांसद–भत्ता मात्रै खाएर बस्नुभन्दा त तपाईंले जस्तै खसीलाई घाँस काट्तै बस्नु कता हो कता उत्तम । माइलाबा तपाईं त आफ्नै बुद्धि विवेकले काम गर्नु हुन्छ, तपाईंलाई हुइप् लाउन कसैले सक्तैन, खान–लाउनसम्म पाएकै छ अनि किन राजनीतिमा पसेर पैसाको उरुङ लाउने सपना देख्नु हुन्छ ?
एकतमासको मुख पारेर मेरो कुरा सुनिसकेपछि बुढाले भने– ‘मैले भनें नि ! अब मेरो राजनीति मोह सकियो । छोटो समयमा धेरै पैसा कमाएको देख्ता कता–कता कुत्कुती लाग्या मात्रै हो । तेरो कुरा अनुसार भलो मतिले कमाउँदा रहेनछन् । बाटो ढुक्नु, लुट्नु, भ्रष्टाचार गर्नु, देशदुनियाँ नाङ्गै पारेर मोज गर्नु छैन मलाई । त्यस्तो कामले शाखा–सन्तान पिर्छ, परत्र बिगार्छ । बाटामा भेट्टाएको पैसा समेत तुलसीको मोठमा चढाउने म जस्ता मान्छेले राजनीतिमा लागेर पैसा खैँचिन सक्तिन । राजनीति गर्नु भनेको के गर्नु हो भन्ने कुरा मैले अब चैं भलिभाँती बुझें । कसैले बुझेको रैनछ भने अब म पनि बुझाउन सक्छु ।’ भनिराखेर अनि चैं बुढा ढाड बङ्ग्याउँदै उठेर बाटो लागे । मेचीखबर साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
