
योजनासँग आउनुहोस्, सहकार्य गरौँ ।
विरोधका चर्का भाषणहरुलाई मात्र विश्वास नगरौँ ।
केही समययता शहरका चोकहरुमा धेरै भाषणहरु सुनिन्छ । लाग्छ सही कुरा गर्दैछन् । बाटो बनाएन सरकारले, काम गरेनन् नेताले, यो भएन, उ भएन । युवा आवाज बुलन्द भइरहेको छ । युट्युबमा प्रसस्त भिडियोहरु छन् । सुन्न मन लाग्छ, पटक–पटक सुन्छु । भाषणहरु खरा छन् । जोसिला मानिसहरु भाषण गर्छन् । तर, सबै आलोचना छन् ।

मैले नबुझेको कुरा सामाजिक सञ्जालमा जिज्ञाशा राख्न चाहे । म पनि परिवर्तन चाहन्छु । देशको मुहार फेरिएको हेर्न चाहन्छु । नेपाली जनताका सबै समस्याहरु दुर भएको अनुभव गर्न चाहन्छु । ती जोशिला भाषणसँग, अघिपछि हिँड्न चाहन्छु । तर, ती जोशहरुले, जोशिला भाषणहरुले आलोचना गरेको मात्र सुन्छु । यसरी बनाउनुपर्छ भन्ने कहिले सुन्दिन । जोशिला युवाहरु मलाई पनि समावेश गर्नुस् म पनि पछि–पछि हिँड्न तयार छु ।
१. तपाईंहरुको अभियान के का लागि ?
२. अभियानले सचेत गराउने कि परिवर्तन गर्ने ?
३. सचेत गराउने मात्र हो भने सकरात्मक दबाब जरुरी छ, विरोध र मुखमा आएजति कराउँदा सम्भव छ र ?
४. परिवर्तनका लागि भने कार्ययोजना खोई ?
५. जनता सामु कार्ययोजना र वास्तविक उद्देश्य प्रस्ट नराखी कुर्लनुको के फाइदा ?
नेपाली जनताको मुल समस्या गरिबी हो, वेरोजगारी हो । राज्यले सामाजिक सुरक्षाका सवालमा सम्बोधन गर्न नसकेकै हो । भौतिक विकास अपेक्षा अनुरुप नभएकै हो । यी समस्या समाधान गर्न कुन विचार र वाद र पथबाट कस्तो रणनीतिक योजना र समृद्धिको खाका कोर्न सकिन्छ ? यी र यस्ता धेरै जिज्ञाशा समेटेको योजना खोई त परिर्वतनका हिमायती साथीहरु ? मलाई पनि समेटनुस् न अभियानमा । तर म भाषणबाट र आलोचनाबाट प्रभावित हुन्न । विश्वास आलोचनाबाट भन्दा असल कार्यको सुरुवातवाट जित्न सकिन्छ ।
राष्ट्रप्रमुख नेपाली जनताको एकता हो, विश्वास हो । राष्ट्रपतिलाई दलको नेताको, सरकारको कामको विरोध गरे झै विरोध गरेको सुहाउँदैन । किनकि कार्यकारी अधिकार राष्ट्रपतिलाई छैन ।
अन्त्यमा अभियानमा म र मजस्तै धेरै नेपाली जनता जुटन चाहन्छन्, नेपाल र नेपाली को मुहार फेर्न चाहन्छन् । विश्वस्त आधार दिनुहोस्, लिखित खाका ल्याउनुहोस्, अर्थव्यवस्था दिगो र भरपर्दाे बनाउन आर्थिक नीति जरुरी छ । आर्थिक नीतिसहित अभियानमा आउनुस् । सबैसँगै हिँडौँ तर युवाहरुको भविष्य माथि खेलवाड गर्ने ढंगबाट विरोधका चर्का भाषणसँग मात्र अभियान आउँछ भने युवा सचेत हुनु जरुरी छ ।
बिर्तामोड (झापा)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

