
तित्रा
माइलाबा कस्ता छन् भनेर चिन्न उनको अलिकति कैरन गर्नुपर्छ । कमेज सुरुवाल इस्टकोट टोपी र खुट्टामा प्लास्टिकका चप्पल उनको पहिरन हो । पचहत्तर वर्ष जति उमेरका, ठूलो अग्लो हाडेज्यान भएका, हिंड्दा थोरै कुप्रिएर हिंड्ने, जुँगामुठे, झुस्लुक्क दारी, मुखमा बाह्र–चौधवटा मात्रै दाँत बाँकी रहेका माइलाबा कहिले गन्जी बिब्ल्याँटो लाउँछन्, कहिले सुरुवालको एउटा बाउलो सुर्किन्छन् अकोर् चाहिँ बिर्सिन्छन् ! टोपीको वरिपरि फुलेका कपाल खरानीको रेखी जस्तै देखिन्छ । उनको इस्टकोटमा एउटा पावरवाला चश्मा, फाउन्टेन पेन र एउटा पाकेट डायरी सधैं हुन्छ । तल्लो गोजीमा एकपटक खाएर आधा, चौथाइ बाँकी रहेका सिग्रेटका ठुटा र एउटा लाइटर बोकेका हुन्छन् ।
कुनै छोरा छुट्टिएर बसेका, कुनै विदेश भासिएर घर फर्किनै बिर्सिएकाले घरमा बुढा र बुढी मात्रै छन् । बुढाबुढीले दुःख गरेर चार वटा जति खसी पालेका छन् । तिनै खसी देखाएर बुढाले अठार ठाउँमा ऋण खाएका छन् । कोही ऋण उठाउन आयो भने उनी बुढीसंग बाझे झैं गर्छन् र भन्छन्¬– भुटुन किन्ने पैसा छैन, नभएको पैसा कहाँबाट ल्याउने ? त्यत्तिकै कराही रन्काएर झ्वाँइ पार्, नून पल्लो घरबाट पैचो ले, मलाई कचकच नगर् । यत्ति सुनेपछि ऋण उठाउन आएको मान्छे कुरै ननिकाली फर्किन्छ । अरु कसैलाई त– म तपाईसँग अलिकति ऋण थपिमाग्न आउनै आँटेको थिएँ, तपाईं नै आउनु भएछ । लौन आठ–दश हजार हातसारो गरांै भनेर ऐठन पार्छन् । हेर्दा पत्याउँदा माइलाबाले उस्तैलाई बेचेर खाइदिन्छन् ।
बुढाको कुनै कुराको विश्वास हुँदैन । तस्करको पैसाले चुनाव जितेर समाजवादको भाषण भुक्ने नेताभन्दा खराब बानीव्यहोरा बुढा देखाउँछन् । कुरा ठूल्ठूला गर्छन्, आदर्श ओकल्छन्; तर सौ–पचास रुपैयाँका निम्ति कसैको टाङमुनि छिर्न पनि पछि पदैर्नन् । उहिले ठूला नेताहरूसँग उठबस भएको, सबैलाई चिनेको, राजधानी गएर कपाल कन्याउनु हो भने सजिलै तीन–चार लाख दिन्छन् भनेर झण्डै पत्याउनेगरी डिङ हाक्छन् । सुशील कोइराला उनका सहपाठी अरे ! तर, उनले बनारसमा पढें, मैले ताप्लेजुङको फुङ्लिङमा, भनेर हसाउँछन् ।
माइलाबा बेपत्तासँग राजनीति कुरा छिरोल्दै हिंड्छन् । महिनैपिच्छे पार्टी बदल्दै हिंड्छन्, तर कुनै पार्टीमा चाराना पैसा तिरेर सदस्यता लिएका छैनन् । भ्रष्टाचारले देश डुबेको उनलाई जति चिन्ता छ, त्यो भन्दा बढी आफू भ्रष्टाचार गनेर् ठाउँमा नपुगेको र कहिल्यै त्यहाँ पुग्ने सम्भावना नभएकोमा औडाहा छ । विशेषगरी चुनावका बेलामा उनी चम्किन्छन्, चन्दा उठाउने काममा अघि सर्छन् । पार्टीका मान्छे पुग्नुभन्दा पहिल्यै आफू व्यापारीहरूकहाँ पुगेर फलानो उम्मेदवारले पठाएको भन्दै गाँठ जिप्ट्याउछन् । ‘हँसियाको बिहेमा खुर्पाको गीत’ भने झैं चुनावी राजनीतिका बेलामा गोलमाल गरेर राम्रैसँग पैसा हात पार्छन् । उनी सबै उम्मेदवारसँग पुग्छन् । आफूसँग सौ–पचास भोट भएको विश्वास दिलाउँछन् अनि भन्छन्– ‘मरिजाने चोला उडिजाने सास’ बाँचुञ्जेल त यसो रामरमाइलो गर्नु पर्यो भनेर दाम खुस्काउँछन् । ‘सम्धिको निहुँले मलाई पनि घिउ ले’ भने झैं चुनावभरि नै बुढा नमातेको कुनै दिन हुँदैन । तर, ‘नाठिनीको नाठो काख छउञ्जेल आफ्नो’ भनेजस्तै चुनावपछि तिनै नेताहरूलाई सत्तोसराप गदैर् हिंड्छन् । ‘सालीको आशमा भिनाजुको बनिबास’ भन्ने उखानजस्तै कस्को बहकाउमा लागेर वडा सदस्य उठ्ने भएर खोरका खसी पनि समाप्त पारे । बुढीले अगुल्टाले खेदेर कति दिन बुढाको गाउँमै बास भएथ्यो ।
बुढा तन्नम गरीब नै हुन् । उनकै व्यहोराले छोरा–बुहारीले पनि हेरेनन् । एउटा झुप्रो घर बाहेक अरु केही छैन । तर पनि खै कताबाट कसरी हो, उनको सोच चाहिं सामन्ती किसिमकै छ । बिनाबित्थाँ सानातिना हेपेका मान्छेलाई हप्काउनै पर्ने, भाइ–भतिजाहरूलाई भेट्टाए भने तँ ठूलो भएको, आउनै छोडिस् भनेर हप्काइहाल्ने, उनका घर पुग्यो भने– माइलाबाकहाँ आउदा रित्तै आइस् । अलिकति संस्कार छैन तेरो भनेर झम्टिहाल्ने । उनका मात्रै कुरा सुनिदिनु पर्ने, अरुका कुरा सुन्न नरुचाउने, उनले जे जे भने पनि हो–हो भन्दिनु पनेर् । कुरा काट्यो भने आइलागिहाल्ने । विचित्रकै छन् बुढा । उनले अरुलाई उपदेश दिनु पर्यो भने एउटै उखान दोहोर्याउछन्– ‘ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी बस्नु’ । हुन पनि बुढा आर्थिक रूपमा निख्रिएका अरुकै जमानी बसेरै हो । अरुको आर्थिक मामलामा छोड्दे, म भएँ भन्ने तमाश देखाउने भएरै अलिकति भएको खेतबारी सिध्याएका हुन् । जहाँतहीं जहिलेसुकै ठूलो पल्टिनु पनेर्, गफले मुलुक खाने । उनीसँग पैसा कमाउने आइडिया धेरै छन् अरे । तर के गर्नु, चिनीको नाम जपेर मुख गुलियो हुँदैन । बेलाबेलामा त दया पनि लाग्छ बुढाको ।
बुढालाई कस्ले भन्दिएछ कोनि ! तस्कर माफियाहरूसँग ठूलाठूलै नेताहरू पनि लत्रिन आइपुग्छन् भनेर उनी दौडिंदै मसँग आएर भन्छन्– के गर्दा तस्कर र माफिया बन्न सकिन्छ, मलाई पनि सिकाइ दे न । तपाईंबाट यो काम हुँदैन, जान्नु हुन्न, सक्नु हुन्न भन्दिन्छु अनि मसँगै आइलाग्न खोज्छन् । म के भनेर सक्तिन हँ…केटाहरू चढ्न नसकेको रुख चढ्न सक्छु , अहिले पनि कसैको बेवारिसे भाले देखें भने खेदेरै पक्रिन सक्छु, दुई बोतल ठरर्ा खाएर पनि ठम्ठम हिंड्न सक्छु । म केही जान्दिन जस्तो लाग्छ तलाईं ? उहिले पढेको लघुकौमुदीका श्लोक अहिले पनि कण्ठै छ, गायत्री मन्त्र फरर भन्न सक्छु, नेपालको मात्रै होइन इण्डियाको राजनीति पनि जान्दछु । अमेरिकाको काखी मुनिको मानव अधिकार पनि मलाई राम्ररी थाहा छ । नेताहरू चुनाव जितेर काठमाडौं पुगेपछि दुई–चार वर्षमै अर्बपति कसरी हुन्छन्…इत्यादि कुरा सबै जान्दछु । अझ तँ मलाई जान्दैनस्, सक्तैनस् भन्छस् ? भनेर बुढा ठाडै झम्टिन्छन् । ‘भँगेरो मार्न सजिलो, भुत्लाउनै गाह्रो’ भने झैं यी ल्वाँठ बुढासित कुरा गर्न त सजिलै हुन्छ, तर फस्र्याउनै गाह्रो । भँगेराको भुत्लासँगै साँप्रो पनि सिद्घिएला भन्ने त्राही !
पोहोर साल यी बुढालाई समाजसेवी भनेर पाँच हजार पुरस्कार र एउटा धुस्सा ओढाइदिन अलिकति पहल गर्नु पर्यो, जे भए पनि निर्धन बुढा मान्छे… भनेर प्रयत्न गदैर् थिएँ, त्यहाँका समितिका मान्छेले– ‘चण्डाललाई रुद्राक्षको माला’ भने झैं यस्ता मान्छेलाई सम्मान गनेर् ? भनेर पटक्कै मानेनन् । बुढा गतिछाडा नै छन्, जहाँ जान्छन् र जे गर्छन्, ‘शिरमा टोपी छैन, खुट्टामा खोल’ भने झैं चरित्र समाप्तै भएका यी बुढालाई कता सम्मानको धुस्सा ओढाउनु । मलाई त हप्काएर खलक्कै खान्छन् । सम्मानै गरिदिंदा पनि ती सम्मान गनेर्हरूलाई नै उल्टै यति पाँच हजार मात्रै हो भनेर दप्काउन सक्छन् । पाडो खानेले बाच्छो किन बाँकी राख्थ्यो । गाउँ–समाजमा यस्ता बुढालाई सम्मान गर्नु नै हो भने पनि मुलाको ड्याङमा हात्ती नलुके झैं कुरो लुक्तैन । सम्मान नगरेकै वेश भएछ ।
माइलाबा उहिलेका आफ्नै समयका कुरा मात्रै गर्छन् । आधुनिक युगले भिरिङ्गीबाट एड्समा छलाङ मारिसक्यो, तर उनी यस्तो बुझ्दैनन् । राजनीतिले त झन् सबैलाई पछि पारिसक्यो, राजनीति व्यापार मात्रै नभएर अब त उद्योगै भइसक्यो । सेवाबाट जागिर व्यापार उद्योग भएर नयाँ–नयाँ दरबन्दी सिर्जना गरी कत्ति मालामाल भइसके । तर, माइलाबा वडा सदस्यको सपना देख्छन्, तर कसैले टिकट दिंदैनन् अनि आफैं उठ्छन्–आफैं हार्छन् । अनि अकोर् पटक जसरी पनि जित्ने भनेर आफैंलाई सम्झाउँछन् । बुढाको हत्केलामा तोरी फलाउने सपना कहिले पूरा होला बरा… !
अप्ठ्यारो असजिलो अक्कडो ग्वाँच मान्छे खोज्नु पर्यो भने टाढा जानै पदैर्न । माइलाबालाई उपहासमा उडाएर धेरै मान्छेले मनोरञ्जन लिन्छन् । उनका काम कुरा साँच्चै नै ‘गाडा अगाडि गोरु पछाडि’ भनेजस्तै छन् । जस्तै अवस्थामा पनि नदबिने, ठूलै गफ गर्नु पनेर्, आफूलाई सानो, निर्गतिलो नदेखाउने, अनपढ असचेत निर्धन नभन्ने बुढा आजको युगसँगै आफू पनि फिट्फाट, अपडेट भएको कुरा उनका गफमा पाइन्छ । तर, के गर्नु; गफले चिउरा मुछिंदैन ! जस्तै हरिबिजोग हुँदा पनि नआत्तिने माइलाबा भोकै छन् कि अघाएका छन्, कसैले छेउभेउ पाउन सक्तैनन् । उनी एकै दिन एक दर्जन ठाउँमा बिहेभोज खाइदिन सक्छन् भने कहिले एक छाक र कहिले भोकै बस्न पनि सक्छन् । वास्तवमा विचित्रकै छन् यी माइलाबा ! मेचीखबर साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

