
सन्तोष शर्मा
बिर्तामोड, २४ चैत । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएपछि स्वेच्छिक रक्तदानका लागि आह्वान गरेयता रगत संकलन हुन थालेको छ ।
जिल्लामा रगतको अभाव भएपछि रेडक्रस झापाले बिहीबार (चैत २० गते) स्वेच्छिक रक्तदानका लागि आह्वान गरेको थियो । रेडक्रसको आह्वानपछि मेचीनगरको काँकरभिट्टाबाट ५४ पिन्ट, बाहुनडाँगीबाट ६८ पिन्ट, धुलाबारीबाट ४१ पिन्ट रगत संकलन भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
‘अहिलेसम्म १६३ पिन्ट रगत संकलन भएको छ’, उहाँले भन्नुभयो, ‘पाँच सय रगत संकलन गरेर अरु ‘अनकल’मा राख्ने योजना बनाएका छौँ ।’ भोलिसम्ममा पाँच सय पिन्ट रगत संकलन हुने उहाँले बताउनुभयो । स्वेच्छिक रक्तदानका लागि फोन आइरहेको उहाँको भनाइ छ ।
ब्लड बैंक रहेका स्थानको आसपासको क्षेत्रलाई ‘अनकल’ (आवश्यकता पर्नासाथ फोन गरेर रक्तदान गर्ने) राखिएको रेडक्रस झापाले जनाएको छ । बिर्तामोड आसपासका क्षेत्र, अर्जुनधारा, चारपाने, गरामनी, महेशपुर, भद्रपुर, दमकका आसपासका क्षेत्रलाई अनकलमा राखिएको छ ।
‘बिरामीको अवस्था अनुसार ताजा रगतको पनि आवश्यकता पर्छ’, सभापति ढकाल भन्नुभयो, ‘त्यस्तो अवस्थामा फोन गरेर, रेडक्रसको गाडीबाट तुरुन्त ल्याएर रगतको आवश्यकता पूरा गर्ने रणनीति बनाएका छौँ ।’ एक हजार पिन्ट राख्ने क्षमता भएकाले ३५ दिनभित्र प्रयोग नगरेको खण्डमा रगत खेर जाने उहाँले बताउनुभयो ।
रेडक्रसले स्थापना गरेको ब्लड बैंकमा समेत स्वतस्फूर्त रुपमा मानिसहरुले रक्तदान गरिरहेको ढकालले बताउनुभयो ।
झापा रेडक्रस मातहत जिल्लाका छ स्थानमा ब्लड बैंक रहेका छन् । रेडक्रस भद्रपुर, रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड, बीएण्डसी हस्पितल बिर्तामोड, लाइफ लाइन अस्पताल दमक, आम्दा अस्पताल दमक र दमक रेडक्रसमा रहेको ब्लड बैंक स्वतस्वपूmर्त रुपमा रक्तदान गरिरहेको सभापति ढकालले बताउनुभयो ।
सरकारले कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेपछि रक्तदान समेत ठप्प छ । यस्तो विषम पस्थितिमा रगतको अभाव हुन नदिन रेडक्रस झापाले रक्तदान अभियान सञ्चालन गरिएको हो ।
अस्पतालमा ओपीडी सेवा बन्द भए पनि सुत्केरी, डायलासिस र आकस्मिक शल्यक्रियाका लागि रगतको माग उच्च छ ।
झापा वार्षिक करिब २३ हजार पिन्ट रगतको खपत हुने गरेको रेडक्रस झापाले जनाएको छ । ‘अरु बेला मासिक दुई हजार पिन्ट रगत जिल्लामा खपत हुने गरेको थियो’, सभापति ढकालले भन्नुभयो, ‘अहिले अलि घटेको छ, तर पनि दैनिक ४०÷५० पिन्ट रगतको माग छ ।’
रेडक्रस झापाले कोरोना भाइरस नियन्त्रणका लागि जनचेतना अभिबृद्धि गर्ने र स्थानीय तहसँगको सहकार्यमा राहत वितरण लगायतका गतिविधिलाई तीव्रतासमेत दिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


