
बिर्तामोड, १२ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को आशंकामा झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा भर्ना भएका २१ जना बिरामी डिस्चार्ज भएका छन् ।
अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका सबै बिरामीको कोरोना स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पिताम्बर ठाकुरले जानकारी दिनुभयो ।
अञ्चल अस्पतालमा २५ बेड र दमक अस्पताल दमकमा दुई बेड गरी जिल्लामा २७ बेडको आइसोलेसन वार्ड निर्माण गरिएको छ । अस्पताल विभिन्न संघसंस्थाले पीपीई, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामग्रीको सहयोग गरिरहेका छन् ।
झापाका १५ वटा स्थानीय तहले २७ वटा स्थानमा ७७८ जना क्षमताको क्वारेन्टाइन बनाएका छन् । जसमा हाल १८९ जना रहेका छन् भने २३९ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ जना रहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


