
झापा, १७ वैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआउनुभएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँसमेत गरी अमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् ।
मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिनुभएको जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना सङ्क्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना सङ्क्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ । उहाँ भन्नुहुन्छ, “अरु रोग लागेका व्यक्तिमा कोरोनाको सङ्क्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृत्यु नजिक पु¥याउने गरेको देखिन्छ ।”
यसैबीच एक महिना अगाडि मृत्यु भएका विष्णुकुमार राईको शवलाई मङ्गलबार अन्तिम संस्कार गर्न सफल भएको भण्डारीले जानकारी दिनुभयो । अमेरिकामा निधन भएका नेपालीको शवलाई अन्तिम संस्कार गर्नका लागि परिवारका सदस्यसँगको समन्वयमा शवदाहगृहसम्म पु¥याउने काममा भण्डारी महत्वपूर्ण सहयोग गर्दै आउनुभएको छ ।
एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाले अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५४ नेपालीको मृत्यु भएको राससलाई जानकारी दिनुभयो । एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ ९अप्रिल २५० सम्म सङ्कलन गरेको तथ्याङ्कमा विभिन्न २५ देशमा रहेका दुई हजार ३२ नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ । तीमध्ये ४३४ जनाले आफूलाई कोरोना भाइरस सङ्क्रमणबाट मुक्त गराउन सफल भएको छ । सङ्ख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा एक हजार सङ्क्रमित भएको र अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेको तथ्याङ्क छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा फेब्रुअरी ६ तारिखमा एक जनाको मृत्यु भएको थियो भने यो समाचार तयार पार्दासम्म अमेरिकामा यो भाइरसको सङ्क्रमणबाट ५८ हजार २२० जनाको मृत्यु भइसकेको छ । अमेरिकामा कूल १० लाख १२ हजार सङ्क्रमित पुगेका छन् । कोरोना भाइरसको तथ्याङ्क राख्दै आएको विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालय जोन हपकिन्सको पछिल्लो तथ्याङ्कअनुसार १८५ देशका ३१ लाख १६ हजार ६८० जना कोरोना भाइरस सङ्क्रमणमा परेका छन् । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

