
झापा, २२ बैशाख । सरकारले कोरोना भाइरसको उपचार तथा रोकथामका लागि आफ्नो जीवन नै जोखिममा राखेर फ्रन्ट लाइनमा खटिने डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई शतप्रतिशतसम्म प्रोत्साहन गर्ने व्यवस्थापन आदेश ल्याएको छ ।
‘कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उपचारमा सम्लग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश (२०७७’ मा कोरोनाविरुद्ध खटिनेलाई जोखिम भत्ता उपलब्ध गराइने छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको उक्त आदेश मन्त्रिपरिषद्ले पास गरेको हो ।
गत ९ चैतमा बसेको मन्त्रिपरिषदको बैठकले कोरोनाको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई ५०, ७५ र १०० प्रतिशतको दरले जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।
आदेश अनुसार कोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई १०० प्रतिशत, दोस्रो तहमा रहेर काम गर्नेलाई ७५ प्रतिशत र त्यसभन्दा बाहिर हुने तर कोरोना विरुद्ध खटिएकालाई ५० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध हुनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


