
झापा, २५ साउन । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले व्यापारीले दोहोरो कर तिर्नु नपर्ने बताउनुभएको छ ।
झापा उद्योग संघले कार्यालय परिसरमा आयोजना गरेको ‘स्वागत सम्मान तथा घेटघाट कार्यक्रम’मा मन्त्री आङ्बोले त्यस्तो बताउनुभएको हो । ‘कुनै पनि वस्तु उत्पादन, ढुवानी वा निर्यातमा दोहोरो कर लाग्दैन’, मन्त्री आङ्बोले भन्नुभयो, ‘यस विषयमा व्यवसायी चिन्तित हुनु पर्दैन ।’
कार्यक्रममा तीन तहको सरकारको संरचना बनेसँगै उद्योग–व्यवसाय क्षेत्रमा दोहोरो कर लाग्ने हो कि भन्ने विषयमा उद्योगी–व्यवसायीले चिन्ता व्यक्त गरेका थिए । प्रतिउत्तरमा मन्त्री आङ्बोले दोहोरो कर नलाग्ने स्पष्ट पार्नुभयो ।
‘अहिलेको तीनै तहका सरकारको अर्जुनदृष्टि भनेको आर्थिक समृद्धि हो र त्यो हासिल गर्न उद्याग बाणिज्य क्षेत्रको संरक्षण, सम्बद्र्धन र विकासबिना सम्भव छैन’, उहाँले भन्नुभयो, ‘सरकारले निजी क्षेत्रप्रति सकारात्मक छ ।’
कार्यक्रममा नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलले नयाँ श्रम ऐनले चिया उत्पादकहरुलाई मार परेको भन्दै पुनरावलोकन गर्न आग्रह गर्नुभयो । त्यस्तै, संघका पूर्वअध्यक्ष चण्डी पराजुलीले अझै पनि उद्योगीहरु कतै न कतै दोहोरो करको मारमा परिरहेको गुनासो गर्नुभयो ।
संघका कार्यवाहक अध्यक्ष यमबहादुर क्षेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार गोपाल गिरीले गर्नुभएको थियो । मन्त्री आङ्बो २४ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा कार्यक्रममा सहभागी हुन बिहीबार झापा आउनुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

