
काठमाडौं, २७ साउन । नेपालमा मंगलवार थप ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ८३ जनाको मृत्यु भएको छ ।
पत्रकार सम्मेलनमा उनले १८३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण रहेको बताए । पर्सा, महोत्तरी, रौतहट र काठमाडौं जिल्लामा ५०० जनाभन्दा बढी कोरोना संक्रमित रहेका छन् । उनका अनुसार काठमाडौंमा जिल्लामा मात्रै ११० जना कोरोना संक्रमित थपिएका छन् ।
यसैगरी कुल पीसीआर परीक्षण संख्या ४ लाख ६२ हजार ६९८ पुगेको छ भने पछिल्लो २४ घण्टामा १० हजार ४६२ ओटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन् । त्यसैगरी आईसोलेशनमा हजार २०१ जना रहेका छन् ।
प्रवक्ता गौतमका अनुसार कुल संक्रमित मध्ये ६९ दशमलव ६ प्रतिशत निको भएर घर फर्किएका छन् । त्यस्तै हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १६ हजार ६६४ पुगेको छ भने मंगलवार मात्रै थप १७१ जना डिस्चार्ज भएका छन् । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको ७ हजार २०१ जना रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



