
झापा, २९ साउन । नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ ।
बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप चार जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । मृतकमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा उपत्यकाका १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।
पछिल्लो अध्यावधिक विवरणअनुसार १०९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेको छ । हाल देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७६९ जना रहेका छन् । हालसम्म कोरोनाबाट ९५ जनाको मृत्यु भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



