
रुस, ३१ साउन (एजेन्सी) । रुसले कोरोना भाइरसको संक्रमणविरोधी खोपको उत्पादन शुरु गरेको छ । रुसको निजी क्षेत्रको समाचार संस्था इन्टरफ्याक्सले स्वास्थ्यमन्त्रीको भनाइ उद्धृत गर्दै शनिवार यस्तो समाचार छापेको हो ।
समाचारअनुसार स्पुतनिक भी नामक सो खोपको पहिलो ब्याचको उत्पादन शनिवार शुरु गरिएको छ । उत्पादन शुरु भएको यो विश्वकै पहिलो कोरोना भाइरसविरोधी खोप हो ।

खोप यस महीनाको अन्तिममा कोभिड–१९ का बिरामीहरुको उपचारमा खटिरहेका डाक्टरलगायत स्वास्थ्यकर्मीहरुमा प्रयोगका लागि उपलब्ध गराइने रुसले बताएको छ । २ महीनाभन्दा कम समयको परीक्षणपछि रुसले खोपलाई अनुमति दिएको हो ।
खोपको तेस्रो चरणको परीक्षण शुरु हुँदैछ । तेस्रो चरणमा हजारौं मानिसलाई सहभागी गराइन्छ । खोपलाई अनुमति मिल्ने तेस्रो चरणको परीक्षण महत्वपूर्ण हुन्छ । खोपको सुरक्षालाई लिएर विश्वभरबाट वैज्ञानिकहरुले चिन्ता गरिरहेको बेलामा रुसी राष्ट्रपति भ्लादिमर पुटिनले भने यो सुरक्षित रहेको र आफ्नो एक छोरीले समेत परीक्षणमा सहभागी भएर खोप लगाएको बताएका छन् ।
विश्वभर अमेरिका, चीनलगायत विभिन्न देशमा डेढ सयभन्दा धेरै खोप विकास भइरहेको छ । खोपको क्लिनिकल परीक्षण अघि वर्षौसम्म यसको अनुसन्धान र परीक्षण गरिन्छ । तर कोरोना भाइरसको महामारी बढ्दै जाँदा नियामकहरुले खोपलाई मानवमा परीक्षणको अनुमति दिएका छन् ।
अहिले विश्वभर ३० भन्दा धेरै खोपको मानवमा परीक्षण भइरहेको छ । खोपलाई छिट्टै नै नियामक निकायले अनुमति दिएको र खोप बनाउने होडबीच राष्ट्रिय प्रतिष्ठालाई सुरक्षाभन्दा अगाडि राखेको भन्दै केही वैज्ञानिकहरुले चिन्ता गरेकै समयमा खोपको उत्पादन शुरु भएको छ । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

