
झापा, २७ फागुन । नेपाली कांग्रेस झापाले पाँच जना कार्यकर्तालाई पार्टीबाट निष्काशित गरेको छ ।
पार्टीका जिल्ला सदस्यद्वय ठमनाथ नेपाल, मुना भट्टराई, क्षेत्रीय प्रतिनिधिहरु शम्भू खड्का, टेकनारायण संग्रौला र दिपिन्द्र थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको पार्टीका झापा सचिव कृष्ण हुमागाईंले जानकारी दिनुभयो ।
उनीहरुले केही समय अघिदेखि पार्टीहित विपरित गतिविधि गर्दै आएको र प्रतिनिधिसभा निर्वाचन–२०८२ मा पार्टीले उठाएका उम्मेदवारका विरुद्ध गतिविधि गर्दै विपक्षी उम्मेदवारको पक्षमा प्रचार–प्रसार गरेको पाइएपछि कारबाही गरिएको उहाँले बताउनुभयो ।
कांग्रेस जिल्ला कार्य समितिका सभापति देउकुमार थेवेको अध्यक्षतामा आज बसेको बैठकले उनीहरुले केही समय अघिदेखि पार्टी हित विपरीत काम गर्दै आएकाले निष्काशन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । उनीहरुलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा समेत सिफारिस गरिएको जनाइएको छ ।


