
काठमाडौँ, १९ भदौ । पश्चिमी जर्मनीको सोलिंगन शहरको एक इलाकामा एउटा फ्ल्याटमा पाँच बालबालिकाको शव भेटिएको छ । घटनामा प्रहरीले ती बालबालिकाकी २७ वर्षीया आमा संलग्न भएको आशंका गरेको छ ।
प्रहरीका अनुसार महिलाले त्यसपछि डसेलडोर्फ नजिकैको एक रेलवे स्टेशनमा आफ्नै ज्यान लिने कोसिस गरेकी थिइन् । बालबालिकाको मृत्युको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन र यसबारे विस्तृत जानकारीसमेत उपलब्ध छैन । स्थानीय समयानुसार दिउँसो आपतकालीन सेवालाई सूचित गरियो ।
यो अपार्टमेन्ट हसेल्डेल क्षेत्रको एक आवासीय इलाकामा अवस्थित छ । प्रहरीका अनुसार उनीहरुलाई स्थानीय समयानुसार करिब दुई बजे एउटा फोन आएको थियो । त्यसपछि घटनास्थल पुगेको प्रहरीले त्यहाँ पाँच बालबालिकाका ेशव भेटेका हुन् ।
तीन छोरी र दुई छोरा छन् । बालबालिकाको उमेर एक वर्षदेखि आठ वर्षबीच थियो । ११ वर्षका छैटौं छोरा बच्न सफल भएको बताइएको छ । बालबालिकाकी हजुरआमा घटनास्थलभन्दा करिब ६० किलोमिटर टाढा बस्छिन् ।
जर्मन न्यूज वेबसाइट बिल्डको रिपोर्ट अनुसार उनले नै आपतकालीन सेवालाई अलर्ट फोन गरेकी थिइन् । प्रहरी प्रवक्ता स्टिफनले आफ्नै ज्यान लिने कोसिसमा बालबालिकाकी आमा गम्भीर रुपमा घाइते भएको जानकारी दिएका छन् ।
प्रहरी प्रवक्ताले पत्रकारसँगको कुराकानीमा प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जानकारी दिए । प्रहरीले बालबालिकाकी आमासँग यो दुखद घटनाबारे कुरा गरिसकेपछि मात्रै यसको कारणबारे पत्ता लगाउन सकिने बताएको छ ।
हालका लागि यो ब्लकको सबै फ्ल्याट सिल गरिएको छ । घटनास्थलमा प्रहरीको गाडी, एम्बुलेन्स र फोरेन्सिक टिम पनि उपस्थित छ । स्रोतः बीबीसी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


