
झापा, ८ भदौ । हिमाल र पहाडबाट बसाँई सरेर बस्तीनै खाली हुन लागेपछि सरकारले प्रदेश १ मा रहेका तीन जिल्लाका पाँचवटा बस्तीलाई समेटेर सहर बनाउने निर्णय गरेको छ । हिमाली सहरका रुपमा प्रस्ताव गरिएका १६ वटा सहर मध्ये तीनवटा सहर प्रदेश १ मा पर्ने भएको हो ।
प्रदेश १ मा सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ जिल्लालाई छनोट गरिएको छ । उक्त जिल्लाका ५ वटा बस्तीलाई हिमाली सहरका रूपमा विकास गर्ने सरकारको तयारी रहेको छ । जसमध्ये लुक्ला, नुम भ्याली तथा हेदाङना, किमाथान्का, फुङलिङ, घुन्सा तथा ओलाङ्चुङगोला छनोट गरिएको छ । जसमध्ये पहिलो चरणमा लुक्लाकोे अध्ययन गरिने नयाँ सहर आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक पराग कायस्थले बताए ।
उनका अनुसार पहिलो चरणमा १६ वटा सहरमध्ये ५ वटाको प्रारम्भिक अध्ययन गर्ने तयारी भएको छ । पहिलो चरणमा छनोट भएका लुक्ला, स्याप्रुबेसी, जोमसोम, सिमिकोट र मार्तडीको प्रारम्भिक अध्ययन कार्य अगाडि बढाएको हो ।
त्यसमा प्रदेश १ बाट लुक्ला परेको छ । गत असार ११ को मन्त्रिस्तरीय बैठकले ५ वटा प्रदेशका १६ सहरलाई हिमाली सहर सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको थियो । जसमध्ये तत्काल प्रत्येक प्रदेशका एक–एकवटा सहरको अध्ययन गरिने भएको निर्देशक कायस्थले बताए । ‘हामीले अध्ययनका लागि आवश्यक लागत र अवधिको योजना तयार पारेका छौँ । विभागबाट स्वीकृति पाएपछि परामर्शदाताको छनोट गर्नेछौँ,’ उनले भने, ‘परामर्शदातालाई अध्ययनका लागि ४ महिनाको अवधि दिइनेछ।’
साथै, प्रत्येक सहर अध्ययनका लागि १२ लाखदेखि २० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ५ वटा हिमाली सहरको अध्ययन गर्न सरकारले चालू आवमा ४० लाख रुपैयाँ विनियोजन गरेको आयोजना निर्देशक कायस्थले बताए । परामर्शदाताले अध्ययन रिपोर्ट बुझाएपछि निर्माणको काम अगाडि बढाइने उनले बताए ।
यसैबिच सरकारले हिमाली सहर निर्माणमा स्थानीय मौलिकतालाई प्राथमिकता दिने भएको छ । स्थानीय मौलिकतालाई यथास्थितिमा राखी अन्य आवश्यक पूर्वाधार थप गरिनेछ । नयाँ सहर आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक कायस्थका अनुसार हिमाली सहरका विशेषतालाई उपयोग गर्न थप पूर्वाधारको विकास गरिनेछ ।
लुक्ला, जोमसोम, सिमिकोट र स्याप्रुवेसी पर्यटकीयस्थल हुन् । यी क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याउनका लागि अन्य पूर्वाधार थपिने उनले बताए । त्यस्तै, मार्तडीमा भएको जडीबुटीको सम्भावनालाई थप उपयोग गर्न सकिनेखालका पूर्वाधारको विकास गरिनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

