
झापा, ३१ साउन । पाकिस्तानको कराँची शहरको बाहिरी इलाकामा भएको एक ग्रेनेड हमलामा १२ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।
एक मिनी ट्रकमा भएको यो ग्रेनेड हमलामा एकै परिवारका १२ जनाको मृत्यु भएको जसमा ६ महिला र चार बालबालिका समावेश भएको बताइएको छ । हमलामा ९ जना घाइते भएका छन् । बलदिया इलाकामा भएको यो घटनामा सुरुमा सिलिन्डर बिस्फोट भएको बताइएको थियो । पछि कराँची प्रहरीले आतंकवाद विरोधी दस्ताका एक अधिकारी रजा उमर खत्ताबले सिलिन्डर बिस्फोट भएको सम्भावना नदेखिएको बताउँदै ग्रेनेड बिस्फोट भएको प्रमाण भेटिएको जानकारी दिए ।
उनका अनुसार घटनास्थलमा एउटा बम भेटिएको र हमलामा प्रयोग गरिने केही अन्य सामान पनि भेटिएको छ । प्रहरीका अनुसार बिस्फोट स्थानीय स्तरमा बनाइएको बममार्फत् गरिएको थियो र ट्रकमा छर्रा र नट बोल्टका थुप्रै निशान पनि पाइएका छन् ।
घटनास्थलको भ्रमण गरेपछि उनले भने, ‘यो एक आतंकवादी हमला थियो र गुडिरहेको मोटरसाइकलबाट मिनी ट्रकमा ग्रेनेड फ्याँकिएको थियो ।’ यसअघि डेप्युटी इन्स्पेक्टर जनरलले सुरुवाती जानकारीका अनुसार जतिबेला बिस्फोट भयो त्यतिबेला ट्रकमा २० देखि २५ जना सवार थिए । स्रोतलाई उद्धृत गर्दै दिएको जानकारीमा यो परिवार एक विवाह समारोहमा समावेश भएपछि फर्किरहेका थिए । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


